हाम्रो पार्टी नेपालले शुसिला कार्की सरकारमाथि उठाएको गम्भीर प्रश्न

काठमाडौं, असोज २८ गते। हाम्रो पार्टी नेपालले भदौं २३ र २४ मा भएका व्यापक जनप्रदर्शनको विश्लेषण गरी शुसिला कार्की नेतृत्वको सरकारप्रति आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गरेको छ। पार्टीले सरकारले जनचाहनाको समाधान गर्न नसक्ने र पुरानै सत्ताको चरित्र दोहोर्याइरहेको आरोप लगाएको छ।

पार्टीको प्रतिवेदनमा भदौं २३ र २४ का घटनालाई राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारी, भ्रष्टाचार, संघीय संरचनाप्रति असन्तोष, र विदेश नीतिमा असन्तुलनको परिणाम बताइएको छ। यद्यपि प्रदर्शन हिंसात्मक भएपनि, यसले जनमनमा रहेको गहिरो असन्तोष उजागर गरेको पार्टीले बताएको छ।

प्रतिवेदनमा भनिएको छ, “तत्कालीन सरकारले शान्तिपूर्ण संवादको सट्टा सुरक्षा नियन्त्रणमा जोड दिएकोले आम नागरिक र राज्यबीचको दूरी झनै बढेको छ।”

पार्टीले यो विशेष परिस्थितिमा बनेको सरकारलाई “नागरिकहरुको सरकार” भन्न सकिने आधार नभएको र यसको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। सरकार बनेको डेढ महिना नजिकिदासमेत पीडित परिवारसंग प्रत्यक्ष संवाद, राहत वा स्पष्ट नीतिगत अभ्यास नसक्नुलाई पार्टीले गम्भीर चुकको रूपमा हेरेको छ।

“यो सरकारलाई बाह्य शक्तिको प्रभाव वा आन्तरिक सत्ता सन्तुलनको उत्पादन मात्र हो कि भन्ने आम धारणा बन्न सुरु भइसकेको छ, यो दु:खद पक्ष हो,” भनिएको छ प्रतिवेदनमा।

हाम्रो पार्टी नेपालले सरकारसँग तत्काल रूपमा पूरा गर्नुपर्ने मागहरु राखेको छ:

· पीडित परिवारलाई तुरुन्त राहत।
· सत्य र न्यायमा आधारित अनुसन्धान सुरु गर्ने।
· संवादको प्रक्रिया सुरु गर्ने।

साथै, पार्टीले दीर्घकालीन संरचनात्मक सुधारको पनि माग गरेको छ, जसमा शामिल छन्:

· वित्तीय शोषण अन्त्यका लागि कानुनी सुधार।
· संघीयताको असफल प्रयोगको पुनः मूल्याङ्कन।
· विधिको शासन कार्यान्वयन गर्ने शक्तिशाली आयोगहरुको गठन।
· गरिब र उत्पीडित परिवारहरुको लागि रोजगारी सिर्जना।

अन्त्यमा, पार्टी संयोजक गोविन्द बोहरा ‘ब्रह्माण्ड’ले हस्ताक्षर गरेको प्रतिवेदनमा भनिएको छ, “नेपाललाई अब अस्थायी व्यवस्थापन होइन, दीर्घकालीन सुधार, विधिको शासन, र जनमुक्तिको बाटो चाहिन्छ।” यसै अवधारणामा हाम्रो पार्टी नेपालले नयाँ राज्यप्रणालीको विकल्प प्रस्तुत गरिसकेको र सबैको ध्यान यसतर्फ जाने अपेक्षा राखेको छ।

पृष्ठभूमिः भदौं २३ र २४ गते काठमाडौं लगायतका सहरहरुमा भएका ठूला जनप्रदर्शनपछि राजनीतिक परिवर्तन भएको थियो र पछि शुसिला कार्कीको नेतृत्वमा नयाँ सरकारको गठन भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button