मदन रेग्मीद्वारा सरकारलाई ‘एक चीन नीति’ प्रति स्पष्ट र जिम्मेवार रहन आग्रह

काठमाडौं, अक्टोबर १४।
चाइना स्टडी सेन्टरका अध्यक्ष मदन रेग्मीले नेपालमा हाल तीव्र रूपमा बढिरहेका “फ्रि तिब्बत” र चीनविरोधी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई ‘एक चीन नीति’ प्रति दृढ रहन आग्रह गरेका छन्।

रेग्मीले भदौ २२ र २३ (सेप्टेम्बर ८/९) का दिन जेन–जेड आन्दोलन का क्रममा देखिएका चिनविरोधी र “फ्रि तिब्बत” समर्थक गतिविधिहरूले नेपालको शान्ति–सुरक्षा र कानुन–व्यवस्थामा प्रत्यक्ष चुनौती सिर्जना गरेको बताएका छन्। उनले भने, “नेपालमा यस्ता हिंसात्मक तिब्बती समूहहरूलाई प्रोत्साहन गर्नु केवल चीनसँगको मैत्री सम्बन्धविरुद्ध होइन, नेपाली जनताको शान्तिपूर्वक बसोबास गर्ने अधिकारमाथि समेत आक्रमण हो।”

उनले नेपाली सेना र जेन–जेड समर्थित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार दुवैको ध्यानाकर्षण गराउँदै भनेका छन्, “अघिल्ला सबै नेपाली सरकारहरूले अनुसरण गरेको ‘एक चीन नीति’ प्रति यो सरकारले पनि समान प्रतिबद्धता देखाउनुपर्छ।”

रेग्मीले हालै भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक नेता दलाई लामाले प्रधानमन्त्री सुशीला कार्कीलाई पठाएको शुभकामना सन्देशलाई पनि संवेदनशील सन्दर्भका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार, “दलाई लामाको सन्देशसँगै नेपालभित्र ‘फ्रि तिब्बत’ गतिविधि तीव्र भएको देखिएको छ, त्यसैले सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न अत्यावश्यक छ।”

उनले नेपाल सरकारसँग दलाई लामाप्रतिको कूटनीतिक र राजनीतिक दृष्टिकोण स्पष्ट गर्न माग गर्दै भने, “सरकारले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र तिब्बती राजनीतिक समूहहरूलाई नेपालको भूमिबाट गतिविधि गर्न नदिने नीतिमा दृढ रहनुपर्छ।”

रेग्मीको भनाइमा, नेपालको दीर्घकालीन राष्ट्रिय स्वार्थ, शान्ति, र विदेशी सम्बन्ध सन्तुलनका लागि चीनसँगको स्थायित्वपूर्ण सम्बन्ध अपरिहार्य छ। उनले जोड दिए, “नेपालको स्वाधीनता र सार्वभौमिकता सुदृढ राख्न ‘एक चीन नीति’ को सम्मान गर्नु र त्यसलाई व्यवहारमा उतार्नु अहिलेको सरकारको पहिलो जिम्मेवारी हो।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button