नेपाल–चीन मैत्रीका अमर सेतु: प्रोफेसर वाङ हङवेको निधन

बेजिङ चीन / चार दिनअघि चीनको राजधानी बेजिङमा नेपाल–चीन सम्बन्धलाई जीवनभर समर्पण गरेका एक प्रख्यात चिनियाँ विद्वान प्रोफेसर वाङ हङवेको निधन भएको खबरले दुबै देशमा शोकको लहर फैलिएको छ।

नेपाल–चीन सम्बन्धको अध्ययन, संरक्षण र प्रवर्द्धनमा चार दशकभन्दा बढी समय समर्पित गरेका प्रोफेसर वाङ नेपालप्रति असाधारण लगाव राख्ने एक बौद्धिक एवं भावनात्मक व्यक्तित्व थिए।

प्रोफेसर वाङ हङवे केवल चिनियाँ शिक्षाविद मात्र होइनन्, नेपालका सच्चा मित्रका रूपमा चिनिन्थे। नेपालको समाज, संस्कृति, राजनीति र अर्थतन्त्रबारे उनको ज्ञान गहिरो थियो। उनले नेपाली जनजीवन, परम्परा र कूटनीतिक संवेदनशीलतालाई सूक्ष्म दृष्टिले बुझेर लेख र अनुसन्धानमार्फत दुई देशबीचको सम्वादलाई समृद्ध बनाएका थिए।

नेपाल–चीन सम्बन्धको ऐतिहासिक, बौद्धिक र रणनीतिक धरातल निर्माणमा प्रोफेसर वाङको भूमिका उल्लेखनीय रहेको छ। उनका लेखहरू, विचार र व्याख्यानहरूले दुई देशबीचको समझदारी र आपसी सम्मानलाई थप मजबुत बनाएका थिए। उनको योगदान केवल बौद्धिक जगमा सीमित रहेन, उनले आपसी भावनात्मक सम्बन्धमा पनि स्थायित्व दिन महत्वपूर्ण भूमिका खेले।

शरीर अब हाम्रो साथ नरहे पनि प्रोफेसर वाङको योगदान र विचार सधैं जीवित रहनेछ। उनले रोपेका विश्वास, सद्भाव र समझदारीका बोटहरू अझ हराभरा हुँदै भविष्यका पुस्तामा छायाँ दिनेछन्। उनले देखाएको मार्ग साँचो मैत्रीका लागि एक प्रेरणा स्रोतका रूपमा रहनेछ।

प्रोफेसर वाङ हङवेको निधनप्रति नेपाली जनताको तर्फबाट नेपाल-चीन पारस्परिक सहयोग समाजले गहिरो दुःख व्यक्त गरेको छ। नेपाल सरकार, बौद्धिक वर्ग तथा सर्वसाधारण नेपालीहरूले उनको योगदानलाई उच्च सम्मानका साथ सम्झिरहेका छन्। नेपाली जनताको तर्फबाट उनको आत्माको शान्तिका लागि प्रार्थना गर्दै, नेपाल–चीन मैत्रीलाई अझ प्रगाढ बनाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

प्रोफेसर वाङ हङवेलाई हाम्रो अन्तिम श्रद्धाञ्जली।
नेपाल–चीन मैत्री अमर रहोस्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button