नेता बचाउन उडेको हेलिकप्टर सिंहदरबार बचाउन उडेन

# दिल निशानी मगर

इरानबाट कतार तर्फ हानेको मिसाइल दुई घण्टा अगाडि नै थाहा पाउँछन्। जमिनमा खस्न नदिएर आकाश माथी मार गिराउँछन्। तर वानेश्वरमा उफ्रिरहेका ट्यापेहरू कतिखेर सिंहदरबार घुस्छन्, नेपाली सेनाले थाहा पाउँदैन। भिडका कारण दमकल जान सकेन होला तर हेलिकप्टरबाट पानी छर्किन पक्कै सकिन्थ्यो। अलिकति पानी त रानीपोखरीमा पनि थियो। तर नेपाली सेनाको प्यारासुट (एयरबोर्न) टिम श्री भैरवनाथ बटालियन चुपचाप हेरेर बसिरह्यो।

घटनाक्रमहरू हेर्दा बालेनले नेपाली सेनालाई हातमा लिएको देखिन्छ। तर बालेनलाई कसले साथ दिएको छ, यसै भन्न सकिन्न। केपी ओली चीन भ्रमण गएर नरेन्द्र मोदी समेत अनुपस्थित भएको भिक्टोरी परेड हेर्नु, तत्कालीन सोभियत संघको लिगेसी बोकेर हिँडिरहेका रुसी नेता राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नु, सी जिनपिङको अगाडि नेपालको भूमि लिपुलेक मिचिएको कुरा उठाउनु केपी ओलीको साहसीपूर्ण कदम भए पनि, घरेलु विषयमा सुरक्षा अङ्गको विश्वास गरेर बस्नु कमजोरी भएको देखिन्छ।

सन् १९७९ तिर अफगानिस्तानमा कम्युनिस्ट पार्टीको सत्ता थियो। तर पार्टीभित्र सधैं झगडा हुन्थ्यो। आन्तरिक विद्रोह रोक्न सोभियत संघले सैनिक पठाएर कम्युनिस्ट सरकारलाई बचाएको थियो। तर सोभियत संघको विस्तार रोक्नका लागि अमेरिकाले मूजाहिदीन विद्रोही समूह जन्माइदियो।सिआईएका मार्फत हतियार, गोला–बारुद र प्रशिक्षण उपलब्ध गराइयो। त्यसपछी अफगानिस्तानमा के भयो संसार जान्दछ। केपी ओली सरकारलाई चीनको कठपुतली सरकार भनेर भारतीय मिडियाहरूले झूटो न्यारेटिभ खडा गरिरहेका थिए। सिंहदरबार जलाउन घातक रसायन प्रयोग गरिएको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्। त्यो घातक रसायन कसले दियो, एकदिन त थाहा होला।

भिक्टोरी परेडको बदला लिन शुशिला कार्कीलाई धर्म गुरु
दलाई लामाले शुभकामना दिएका थिए। फ्री तिब्बत तिब्बतियन हरुको नैसर्गिक अधिकार हुदै हो, तर सन् १९५० को दशकतिर भएको खम्पा विद्रोहमा सिआईएको प्रमुख सहयोग रहेको थियो। विदेशी ऋणले देश डुबेको तर्क गर्दै आएकी काम चलाउ प्रधानमन्त्री शुशिला कार्की सरकारलाई हालसालै प्राप्त भएको अरबौं डलरको वैदेशिक सहायता स्विकृत गरिएको छ। अरुबेला आन्दोलनमा कहिल्यै नदेखिने तिब्बती मूलका युवाहरू यसपल्ट असंख्य रूपमा देखिएका छन्। चिनियाँ मूलको जस्तै अनुहार भएका सुदन गुरुङलाई अगाडि सारेर चीनलाई तर्साउन खोजिएको छ, जसलाई अल्जेजिराले भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको थियो। अल्जेजिराले चीनको सिनजियाङ प्रान्तमा बस्ने उइगर मुस्लिमहरूको अधिकारको पक्षमा वकालत गर्दै आएको छ।

शेरबहादुर देउवालाई पञ्चायती शासनले पनि कुट्यो, जेल हाल्यो। राजाको शाही शासनमा पनि यिनलाई बाँकी राखिएन जेल हालियो। गणतन्त्रसम्म आइपुग्दा देउवाले आफ्नै छोराछोरीसरहका जेनजीहरूबाट रकताम्य हुने गरी कुटाइ खानुपर्‍यो। राजनीतिका सुरुवाती चरण र अन्तिम क्षणहरू देउवाका लागि उस्तै उस्तै बने। नेपाली राजनीतिका प्रमुख घटनाक्रममा एक साक्षी, शेरबहादुर देउवाले, समेत जेनजी आन्दोलनलाई निकै डर लाग्दो भनेका छन्। न कसैसँग आवेग, न प्रतिशोध, न पूर्वाग्रह मृत्युकै मुखबाट फर्किएका देउवाको अनुहार एकदम शान्त देखियो। देउवाको शान्त अनुहार जस्तै देशमा पनि सधैंभरि शान्ति छाउने आशा गरौं।

नाेट: पत्रकार दिल निशानी मगरकाे फेसबुकवालबाट।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button