नागरिकतासङ्गै दावाकाे बाबुआमा नै नक्कली

भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा भीड उक्साएको आरोप लागेका ‘टिबेटन ओरिजिनल ब्लड (टिओबी)’का नेता तेन्जिन दावा लामाले नक्कली बाबुआमा खडा गरेर नेपाली नागरिकता लिएको पाइएको छ ।

सरकारी कार्यालय बन्द हुने दिन (शनिवार) दावाले कसरी काठमाडौँ महानगरपालिकाबाट जन्मदर्ताको प्रमाण पत्र पाए ? प्रहरीले अनुसन्धान गरिरहेको छ । तर यतिबेला उनको जन्मदर्ता र नागरिकता उल्लेख भएका बाबु कृष्णबहादुर लामा र आमा माया लामा नै नक्कली भएको पाइएको हो । बौध्द एरियाको वडा नं ६ का वडाध्यक्ष भुवन लामाका अनुसार दावाले नक्कली बाबुआमा खडा गरेर फर्जी सिफारिस पत्र बनाएका हुन् ।

‘वडा कार्यालयले उनलाई कुनै सिफारिस दिएको छैन,हामीले पुरानो रेकर्ड अध्ययन गयौँ,तर कहीं कतै उनको रेकर्ड छैन’, वडाध्यक्ष लामाले जनआस्थासँग भने, ‘उनको कागजातमा देखिएका विभिन्न कैफियतले प्रथम दृष्टिकोणमा नै नागरिकता नक्कली ठहर गर्छ, बाबुआमा भएको भए नक्कली किन बनाउनुपर्थ्याे र !’

दावाका बाबुआमाको नामसमेत पुरानो रेकर्डमा नभेटिएको पनि वडाध्यक्ष लामाले बताए । ‘उनको विषय आएपछि हामीले सबै रेकर्ड खोतलेरै अध्ययन गर्यौँ, तर न उनको रेकर्ड छ न बाबुआमाको !’, उनले थपे ।

दावाले फर्जी सिफारिस कसरी बनाए ? शनिबारको दिन जन्मदर्ताको प्रमाण पत्र कसरी पाए ? कैफियतपूर्ण कागजातकै आधारमा कसरी नागरिकता पाए ? लगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र वडा कार्यालयले समन्वय गरिरहेको वडाध्यक्ष लामाले जानकारी दिए ।  अघि थपे, ‘वडाले सिफारिस दिने,महानगरले जन्मदर्ता दिने र सिडिओ कार्यालयले नागरिकता दिने सामान्य प्रक्रिया हो,तर यहाँ त मुख्य कुरा (सिफारिस पत्र) नै उनले नक्कली बनाएका रहेछन्, कम्तिमा बाबुआमाको रेकर्ड त हुनुपर्ने हो, तर त्यो पनि भेटिन्न।’

स्मरणीय छ, दावाले जेनजी प्रदर्शनको क्रममा पेस्तोल देखाउँदे बनाएको भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ । नक्कली कागजात बनाएर नागरिकता लिएका दावा विभिन्न शंकास्पद गतिविधिमा संलग्न रहेको तथ्य सतहमा आइरहँदा उनी जस्तै फर्जी कागजात बनाएर नेपाली नागरिकता लिनेहरु अन्य कति होलान् ? गम्भीर प्रश्न उठेको छ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button