पूर्वी नेपालमा पर्ने अन्तु–कन्याममा सिजनको सुरुमै पर्यटकको ओइरो

पर्यटकीय सिजनको सुरुमै इलामका चर्चित पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरोपछि केहि समय सुनसान भएका अन्तु कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।
बाढीपहिरोले क्षति गरेका सडकलगायतका संरचना मर्मत तथा पुनर्निर्माण गरिएसँगै अन्तु कन्याममा दैनिक हजारौँ पर्यटक आउन थालेको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो ।
जेनजी आन्दोलन र बाढीपहिरोपछि भारतीय पर्यटकको चहलपहल घटेको अन्तु कन्याममा अहिले भारतीय पर्यटकले खचाखच बन्न थालेका छन् । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष घिमिरेले अन्तुमा भएका होटल, होमस्टे र कटेजमा पर्यटक नअटेपछि गाउँका घरमा समेत पर्यटक राखिएको जानकारी दिनुभयो । अध्यक्ष घिमिरेले भन्नुभयो, ‘‘मौसम खुलेसँगै अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइँचो लागेको छ ।’’
इलाममा बाढी पहिरोको त्रासका कारण भारतीय पर्यटक आउन छोडेका थिए । तर कन्याम अन्तु पर्यटकका लागि सुरक्षित रहेको पाएपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले अन्तुमा मात्र स्वदेशी तथा विदेशी गरी दैनिक पाँच हजारभन्दा बढि पर्यटक भित्रिने गरेका छन् । कात्तिक र मङ्सिर महिना अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने सिजन हो । बिहानको झिसमिसेमै सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकले अन्तुडाँडा खचाखच बन्न थालेको गोरखापत्र अनलाइनमा खबर छ ।
अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । अन्तुमा बाह्रै महिना पर्यटकको भीड लाग्ने गर्दछ ।
सूर्योदय नगरपालिकाकै अर्को चर्चीत पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको चाप बढेको छ । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन ,अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतीय पर्यटकको रोजाइमा परेको कन्याममा पनि भारतीय पर्यटकको समेत चहलपहल सुरु भएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बाढीपहिरोपछि पनि कन्याम अन्तुसहित सूर्योदयका पर्यटकीय स्थल पर्यटकका लागि सुरक्षित रहेको जानकारी दिनुभयो । नगरले बाढीपहिरोबाट क्षति भएका ८७ वटा सडक सञ्चालनमा ल्याइसकेको छ ।
बाढीपहिरोपछि सरकारले तीन महिनाका लागि इलाम जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका कारण तेस्रो देशका पर्यटक भने न्यून सङ्ख्यामा मात्र आउने गरेका छन । अन्तु र कन्याममा असोज पहिलो सातादेखि जेठसम्म पर्यटकको अत्यधिक भीड लाग्ने गरेको छ । यस्तै इलामका पर्यटकीय स्थल सन्दकपुर डाँडा, माइपोखरी, ढापपोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा, भण्डीडाँडासहितका क्षेत्रमा समेत पर्यटकको चहलपहल बढेको छ । बाढीपहिरोपछि सुनसान भएका यी क्षेत्रमा पुनः पर्यटकको आउजाउ सुरु भएको छ ।
CGTN





