प्रधानमन्त्री कार्कीको बालुवाटार त्रिपक्षीय संवादमा ब्यक्त भाषण

काठमाडौं / म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिन भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।

म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।

मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।

हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पु¥याउँछौँ।

हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ। कामको प्रगतिविवरण लिन्छौँ। समस्याहरु फुकाउन लागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ। प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।

अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन। हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।

अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौँ। हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ।

यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।

कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने।

मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।

म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ।

अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button