माओवादी संयोजक प्रचण्डले कारागारमा पुगेर महराको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई भेट्नुभयो । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई प्रचण्डले काठमाडौंको जगन्नाथदेवल कारागार (सुन्धारा) मा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।
यसअघि साधारण तारेखमा बाहिर रहेका महरालाई पछिल्लो समय जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो । महराको स्वास्थ्य अवस्था राम्रो नभएको जनाइएको छ ।
भेटमा महराले प्रचण्डसँग आफू निर्दोष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म निर्दोष छु । म, मेरो पार्टी माओवादी केन्द्र र मेरो राजनीतिक करियरलाई समाप्त पार्ने षड्यन्त्रस्वरूप मलाई झुटो आरोप लगाइएको छ । म कानुनी रूपमा पनि फेस गर्छु । कसैसँग फोनमा कुराकानी भएको आधारमा तथ्यहीन आरोप लगाएर फसाउने काम गरिएको छ ।”
भेटवार्तामा प्रचण्डले पार्टीले कानुनी उपचारका लागि सहयोग गर्ने बताउनुभयो । महरामाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ ।
Everest Dainik





