प्रम कार्कीका एकमात्र छोरा अमेरिकामा, आईटी इञ्जिनियर पेशामा सक्रिय

काठमाडौं — भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको घटनापछि प्रधानमन्त्रीको कुर्सीमा पुगेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की न्याय क्षेत्रको चर्चित नाम हुन्। तर उनको पारिवारिक जीवनबारे भने धेरैलाई जानकारी छैन। सार्वजनिक जीवनमा खुलेर बोल्ने कार्कीले आफ्ना सन्तानबारे कहिल्यै सार्वजनिक रूपमा केही बताएकी छैनन्।
यथार्थमा, सुशीला कार्की र उनका जीवनसाथी दुर्गा सुवेदीका एक मात्र सन्तान छन् छोरा प्रशान्त सुवेदी। प्रशान्त लामो समयदेखि संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका छन्। पेशाले उनी सूचना प्रविधि (आईटी) इञ्जिनियर हुन् र टेक्नोलोजी क्षेत्रमा व्यावसायिक रूपमा सक्रिय छन्।
प्रशान्त सुवेदीले सन २०२३ मा सुमिक्छा भट्ट (नेहा) सँग विवाह गरेका हुन्। नेहा पनि आईटी इञ्जिनियर हुन् र विवाहपूर्व बेलायतमा बस्दै आएकी थिइन्। हाल उनी श्रीमान्सँगै अमेरिका पुगेकी छन् र दुवै क्यालिफोर्नियामै बस्दै आएका छन्।
सार्वजनिक जीवनमा सुशीला कार्कीले आफ्नो निजी पक्षलाई कहिल्यै प्रचारमा ल्याएकी छैनन्। तर स्रोतहरूका अनुसार, उनका छोरा र बुहारी दुवै अध्ययन तथा पेशागत जीवनमा स्थापित छन् र पारिवारिक सम्बन्ध सधैं सादा र आत्मनिर्भर जीवनशैलीमा आधारित छ।
राजनीतिक र न्यायिक दुवै भूमिकामा साहसिक छविका रूपमा चिनिने कार्कीको निजी जीवन भने सधैं शान्त, व्यवस्थित र सार्वजनिक दृष्टिबाट टाढा रहेको पाइन्छ।





