सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न: जंगीअड्डामा मध्यराति पसेर युवाले गरे ताेडफाेड

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक युवकले मध्यराति पसेर भवनभित्र तोडफोड गरेको घटना बाहिर आएको छ। करिब चार साताअघि असोज १८ गते राति ११ बजे, न्युरोड बस्ने २४ वर्षीय राहुल बोगटी नामका युवकले तारबार नाघी सेनाको अत्यन्तै सुरक्षा संवेदनशील क्षेत्र प्रवेश गरेका थिए।

सेनाका अनुसार बोगटीले त्रिभुवन आर्मी अफिसर क्लबको सभामण्डप भवनभित्र प्रवेश गरी ड्राइ साउना तोडफोड गरेका थिए। तोडफोडपछि उनले आफूलाई लुकाउन क्लबकै महिला शौचालयमा करिब १२ घण्टा बिताएका थिए।

भोलिपल्ट करिब पौने १२ बजे, उनी क्लबको गेटबाट बाहिर निस्कने प्रयास गर्दै बार नाघ्दा मात्र सेनाको नजरमा परेका थिए। त्यसपछि सेनाले प्रहरीसँग समन्वय गरी उनलाई नियन्त्रणमा लिएको थियो।

सेनाको निवेदनका आधारमा प्रहरीले उनलाई पक्राउ गरी कात्तिक १२ गते जिल्ला अदालत काठमाडौंमा आपराधिक उपद्रव (Criminal Mischief) अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ।

पक्राउ परेका बोगटी सिन्धुलीका स्थायी बासिन्दा हुन् र मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए। नेपाली सेनाको मुख्यालय जंगी अड्डामा रातिको समय प्रवेश गरेर ताेडफाेड गरेर भाेलिपल्ट १२ बजेसम्म पनि नेपाली सेनाले थाहा नपाउनु सामान्य घटना होइन। यस घटनाले देशको सबैभन्दा संवेदनशील सुरक्षा निकायको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

चिन्ताजनक रूपमा, राजधानीकै केन्द्रमा रहेको जंगी अड्डा जस्तो उच्च सुरक्षायुक्त क्षेत्रमा एक सर्वसाधारण युवकले १२ घण्टा बिताउन सक्नु, नेपालको रक्षा संयन्त्रभित्र सुधार र सावधानीको आवश्यकता दर्शाउँछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button