रामकुमारीहरू गाली नगरी एमालेमा जाने

नेकपा माओवादी केन्द्रसहितका विभिन्न कम्युनिष्ट घटकसँग एकता गर्ने पार्टी निर्णयको विपक्षमा रहेको एकीकृत समाजवादीको एउटा समूह एमालेमा मिसिने गृहकार्यमा जुटेको छ ।

आज बसेरा होटलमा पत्रकार सम्मेलनगरी स्थायी समिति सदस्य रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठसहितले एमालेमा जाने संकेत दिएका हुन् । उनीहरुले आजबाट समाजवादीसँगको यात्रा र अध्याय समाप्त भएको घोषणासहित विचार र सिद्धान्त मिल्ने दलहरूसँग संवाद चलिरहेको बताए ।

एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनाउँदा भयंकर हुन्छ भन्ने लागेको, तर अहिले शून्यतामा अल्मलिनुपरेको परेको झाँक्रीको गुनासो छ ।  एमाले फुटाएर आफूहरुले कमजोरी गरेको भन्दै उनले अब नयाँ ढंगले अघि बढ्ने बताएकी छन् ।

‘जब बाटो टुंगिन्छ तब नयाँ बाटो खोज्दै छुटिन्छ त्यहीअनुरुप अघि बढेका हौँ’, उनले भनिन्, ‘सुखी नेपाली, संमृद्ध नेपालको अभियानअन्तर्गत रहेर नेकपा एस निर्माण भएको थियो । यसको मूल मर्म जनताको मनोकामना अनुरुप काम गर्नु रहेको थियो तर आज सो पार्टी अन्त्त हुँदै छ ।’

त्यसक्रममा झाँक्रीले एमाले फुटाएर समाजवादी गठन गर्दा अध्यक्ष माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोगमा लगेको सन्दर्भ पनि स्मरण गरिन् । भनिन्, ‘अध्यक्षज्युलाई हात समातेर लगेको दृश्य बिम्बात्मक थियो ।’

वामपन्थीहरूले सयौँ पसल खोल्नुभन्दा एउटै पार्टी निर्माण गर्नुपर्छ भन्ने आफ्नो मान्यता सुनाउँदै उनले पार्टी पुनर्गठन, एकता र विभाजन गर्दा बिचार गर्ने समय आएको बताइन् । ‘विभाजन भएर कहिल्यै पनि बलियो भइंदैन, एकजुट हुनु आजको आवश्यकता हो’, उनले भनिन्, ‘अहिले सबै ठाउँमा फुट्ने प्रक्रिया चलेता पनि हामीहरू जुट्नु पर्दछ ।’

पत्रकारको प्रश्नको जवाफमा झाँक्रीले एमालेमा अहिले लोकतान्त्रिक विधि हराएको भन्दै विगतमा आफूले धेरै पटक स्पष्टिकरण दिनुपरेको स्मरण गरिन् । ‘पार्टीमा हुँदा धेरै पटक स्पष्टीकरण दिएको छु, यदि पार्टी बलियो हुन्छ भने जति पटक पनि स्पष्टीकरण दिन तयार छु’, थप्दै भनिन्, ‘हरेक पार्टीको एउटा विधान हुन्छ, सबैले त्यही विधानको सीमामा रहेर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ ।’

नेता किसान श्रेष्ठले पुरानै घर एमालेमा फर्किने तयारीमा आफूहरु रहेको बताएका छन् । विना शर्त त्यता जान तयार रहेको प्रष्ट पार्दै उनले एमाले नेताहरूसँग निरन्तर संवादमा रहेको पनि खुलाए ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button