सुशीलाको धपेडीले दुर्गालाई सास्ती

प्रधानमन्त्री सुशीला कार्कीको धपेडी र व्यस्तता बढ्दा श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्यमासमेत समस्या आएको छ । कार्कीको लामो समयसम्मको भेटघाट, वार्ता र धपेडीको दैनिकीले पतिको स्वास्थ्यमा समस्या बल्झिएको हो । ‘माओवादी नेता वर्षमान पुनको जस्तै लाखौंमा एक जनालाई हुने जण्डिसको जस्तो समस्या उहाँमा देखिएको हो,’ सुरक्षा स्रोतले भन्यो, ‘अस्ति धेरै फोन आउने अनि राति सुत्ने र दिनको टाइम टेबल पनि बिग्रियो । आमैको पनि धेरै खालको वार्ता भइरा’थ्यो । निद्रा र दैनिकी नमिल्दा समस्या बल्झिएजस्तो भएको हो ।’
सुरक्षाकर्मीले यस्तो दाबी गरे पनि अर्को स्रोतको दावी भने फरक छ । पछिल्लो समय प्रधानमन्त्रीलाई समेत निरन्तर दबाब दिएर आफ्ना माग पूरा गर्न खोज्ने सुदन गुरुङको कारण पनि दुर्गालाई तनाव भएको छ । ‘सुदनले अति नै फोन गरेर प्रधानमन्त्रीलाई दुःख दियो । अनि उहाँले फोन उठाउनु भएनछ । एकदिन दुर्गाजीलाई उठाउन दिनुभएछ’, स्रोतले भन्यो, ‘फोन उठाएपछि सुदनले यति गाली गर्यो कि त्यो सुनेर उहाँलाई स्ट्रेस बढी भो र हस्पिटल जानुपर्यो भन्नेसम्म सुनेका छौं।’
स्रोतका अनुसार सुदन बालुवाटार पुगेर प्रधानमन्त्रीको खुट्टा ढोगिरहन्छन् । ‘कतिले गृहमन्त्री चाहियो भनेर दबाब दिएको भाष्य बनाइरहेका छन् तर स्थिति त्यस्तो होइन । कुरा अर्कै छ । सुदनका माग अरु नै छन् ।’
तीन पटकसम्म कोशिश गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । बरु राम्रा खोज्दै गर्दा चाम्रा फेला पर्ने सिलसिला बढेको छ । सँगै विवादास्पद र बदनामहरूको नाम अन्तिम समयमा काटिने अवस्था आएपछि मन्त्री संख्या १० मै कायम राख्ने सोच बनेको छ । अघिल्लो साता मात्रै खेलकुद मन्त्री बनिदिन गरिएको आग्रहलाई फुटबलरद्वय सावित्रा भण्डारी साम्बा र एन्जिला तुम्बापो सुब्बाले समेत अस्वीकार गरेको खबर छ । पछिल्लोपटकको क्याबिनेट विस्तारमा प्रधानमन्त्री कार्कीले स्वास्थ्यका लागि अप्रोच गरेका दुई हाइ प्रोफाइलले असहमति जनाएका छन् । सुरक्षा स्रोतले वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान् कोइराला र डाक्टर अर्जुन कार्कीले प्रस्ताव अस्वीकार गरेको जानकारी दियो । ‘समाजमा प्रतिष्ठा आर्जन गरेकालाई मन्त्री बनाएर राम्रो सन्देश दिने चाहना हो । यसैले स्वास्थ्यमा अलि राम्रो, म्यानेजेरियल स्किल पनि भएका र सबैले रुचाउने पात्र खोजी भएको हो । विभिन्न नाम आउने क्रममा उहाँहरुको पनि थियो,’ स्रोतले भन्यो, ‘बोलाएर डा. भगवानसँग एक–डेढ घण्टै कुरा भयो । उहाँले अरु–अरु नै प्रसंग राख्नुभयो तर मन्त्रीमा चाख देखाउनु भएन । कार्कीले पनि अस्वीकार गरेपछि बल्ल डा.सुधा गौतमलाई मन्त्री बनाइएको हो ।’
कोइरालाले अस्वीकार गर्नुको पछाडि एउटा गम्भीर कारण छ । ‘उहाँले सातै प्रदेशमा बच्चाको मुटुसम्बन्धी हस्पिटल बनाउँदै हुनुहुन्छ तर मुख्य दाता मीनबहादुर गुरुङ जसले ४१–४२ करोडको हस्पिटल बनाउन सहयोग गर्दै थिए, उनैको सारा भाटभटेनी जलाइदिएपछि तिनै उपद्रवकारीले बनाएको सरकारमा बस्न मेरो नैतिक धरातल पनि रहन्न भन्ने कुरा गर्नुभयो’ स्रोतले भन्यो । गौतमअघि स्वास्थ्यमा रौतहटका रामजी रामको नाम लगभग तयजस्तै भएको थियो तर उनको पनि नाम काटियो । ‘स्वास्थ्यमा अलि राम्रो मान्छे ल्याउँदा के हुन्छ भनेर कुरा गर्दा रामजी रामको कुरा आएको हो तर धेरैले साह्रै जुनियर भने,’ स्रोतले भन्यो, ‘यसैले अर्कोतिर लागिएको हो ।’
स्वास्थ्य मात्रै होइन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको किचलो पनि उस्तै नाटकीय रहन पुग्यो । यो मन्त्रालयका निम्ति सिफारिस भएका गणपतिलाल श्रेष्ठको नाम अर्कैतिर सरेपछि उनले पनि अस्वीकार गरिदिए । मन्त्रालय फेरेर कृषि, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री बन्न गरिएको प्रस्ताव उनले स्वीकारेनन् । ‘उहाँले पर्यटन खोजेको तर त्यतातिर अरु–अरुको रुचि रहेको बुझिएपछि गुठी समस्या पनि हेर्न मिल्ने गरी भूमिमा सार्न खोजियो । उहाँले त्योचाहिँ खान्न भन्नुभयो’ स्रोतले भन्यो, ‘क्यानका प्रदीप अधिकारीसँग कनेक्सन रहेछ अनि रोकियो । अन्यथा फाइनल भइसकेर राष्ट्रपति कार्यालयमा पठाइसकिएको थियो ।’
उनी पूर्वराजदूत हिरण्यलाल श्रेष्ठको दाइका छोरा हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस गरिएका खगेन्द्र सुनारको पनि अन्ततः नाम हटाइयो । दलित अभियानकर्ताको रूपमा रहेका उनको सर्वोच्च अदालत, सुर्खेत र काभ्रे जिल्लामा मुद्दा चलेको पाइएपछि रोकिएको हो । ‘दलित समुदायबाट पनि विरोध भयो । अदालतमा बयान दिन बाँकी रहेको पाइएपछि मन्त्री नबनाइएको हो,’ स्रोतले भन्यो । अनेक स्टन्ट गर्ने खगेन्द्रलाई मन्त्री बनाउन नहुने गरी सामाजिक सञ्जालदेखि सुरक्षा संयन्त्रसम्म कुरा उठेको थियो । ‘अस्तिसम्म साङ्लो लगाएर हिँड्थ्यो, झण्डै हामी सबैले सलाम हान्नुपरेको थियो । धन्न, मिडियाले उसका गलत कुरा ल्याएर रोकिदिए । विवादितलाई यसरी मन्त्री बन्नबाट रोक्नु भनेको मिडियाको शक्ति हो,’ सुरक्षा स्रोतले भन्यो ।
Jana Aastha





