नेकपामा मिसिन भीम रावल सकारात्मक

नेकपा (एमाले) ले पार्टीबाट निकालेपछि राजनीतिकरूपमा निस्क्रिय रहँदै आएका डा. भीमबहादुर रावलले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने संकेत दिएका छन् ।

रावल नेतृत्वको मातृभूमि जागरण अभियानका सदस्यहरू यसबारे निर्णय लिन आन्तरिक छलफलमा जुटेको बुझिएको छ । नेका माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वामपन्थी पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार रावल पनि एकतामा आउने लागेको बताएका थिए ।

माओवादी केन्द्रको तत्कालीन महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘अहिलेसम्म दश समूह एकतामा आएका छौँ, तर मलाई लाग्छ घोषणाको कार्यक्रमसम्म ११/१२ सम्म पुग्छ, भीम रावलजीहरु पनि एकतामा आउने कुरा छ ।’ यद्यपि, तत्कालको लागि भने रावल समूह एकतामा पुगिसकेको छैन ।

यस सम्बन्धमा जनआस्थाले रावलसँग सोधेको थियो, ‘तपाईं एकतामा जान लाग्नुभएको हो ?’ जवाफमा उनले भने, ‘निर्णय भइसकेको छैन, तर सकारात्मक ढंगले छलफल अघि बढेको छ ।’

बताइएअनुसार कात्तिक १८ गते रावल, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो । जहाँ रावललाई सम्मानपूर्वक एकतामा जोडिन आग्रह गरिएको थियो । तर, रावलको जवाफ थियो, ‘मैले मात्र भनेर हुँदैन, हाम्रो समूह पनि ठूलो बन्दै गएको छ, समूहका नेताहरुसँग छलफल नगरी हुन्छ भन्न सक्दैन ।’

प्रचण्ड र नेपालसँग भएको छलफल अहिले रावलले समूहका नेताहरुसँग राखिरहेका छन् । ‘अस्ति भएको छलफलबारे मैले समूहका कुरा राखेको छु, साथीहरुको राय बुझिरहेको छु’, उनले भने, ‘अझै केही दिन छलफल नै गछौँ, त्यसपछि हामी आधिकारिक निर्णय गर्नेछौ ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button