मेयर बालेनको फेसबुक स्टाटस विवाद: एमाले युवा संघले साइबर ब्यूरोमा दर्ता गर्यो जाहेरी

काठमाडौँ। नेपाली राजनीतिक परिदृश्यमा एकैपटक ठुलो विवाद चर्किने गरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा राखेका एक अश्लील स्टाटसले तातेको छ। यसै विवादित स्टाटसको कारण नेकपा (एमाले) निकट युवा संघले बिहीबार मेयर साहविरुद्ध साइबर ब्यूरोमा औपचारिक रूपमा जाहेरी दिएको छ।
युवा संघका नेताहरू दिउँसो साइबर ब्यूरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन्। उनीहरूको आरोप छ – सार्वजनिक पदमा रहँदै मेयर साहाले फेसबुकमा चीन, अमेरिका, भारत लगायतका मित्र राष्ट्रहरू र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम लिई अश्लील र मानमर्दनात्मक स्टाटस लेखेका थिए।
युवा संघले दाबी गरेको छ, “नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेका राजनीतिक दलहरूलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरेको छ। यसले सार्वजनिक शान्ति र मर्यादा माथि प्रहार गरेको छ। साथै, मित्र राष्ट्रहरूसँगको सौहार्दपूर्ण सम्बन्धमा पनि आँच आउने गरी यो स्टाटस लेखिएको हो।”
मेयर साहले पाेष्ट गरेको केही समयपछि मात्रै सो स्टाटस हटाएका थिए, तापनि सो स्टाटसले सामाजिक सञ्जालमा ठुलो प्रतिक्रिया र आलोचना जन्माइसकेको छ। युवा संघले आफ्नो जाहेरीमा प्रचलित कानुन बमोजिम मेयर साहविरुद्ध कडा कारबाहीको माग गर्दै तत्काल उनको पक्राउ, विदेश पलायन रोक्न र उनको राहदानी जफ्त गर्न आग्रह समेत गरेको छ।
यस घटनाले सार्वजनिक पदाधिकारीहरूको सोशल मिडिया प्रयोग, राजनीतिक संवेदनशीलता र अभिव्यक्तिको सीमासम्बन्धी गम्भीर प्रश्नहरू खडा गरेको छ। अब प्रहरीको साइबर ब्यूरोले यस जाहेरीको अनुसन्धान कसरी गर्छ र कस्तो रूपमा लिन्छ, त्यो हेर्न बाँकी रहेको छ।





