१२ जना नेपाली विद्यार्थीले पाए ‘बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति’

चीनद्वारा चीनमा अध्ययनरत् नेपाली विद्यार्थीलाई दिँदै आइरहेको ‘बेल्ट एण्ड रोड एम्बेसडर’ छात्रवृत्तिअन्तर्गत यस वर्षको नतिजा सार्वजनिक भएको छ।
बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति व्यवस्थापन कमिटीअन्तर्गत ओभरसिज चाइनिज च्यारिटी फाउण्डेशन अफ चाइनाद्वारा जारी विज्ञप्तिमा यस वर्षको बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति २०२५ वार्षिक कार्यक्रममा चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् १२ जना नेपाली विद्यार्थी छनौट गरिएको उल्लेख छ। १४४ जना नेपाली विद्यार्थीमध्येबाट १२ जना छनौट भएका हुन्।
चीनमा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि वार्षिक रुपमा सञ्चालन हुने ‘बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति–२०२५’ कार्यक्रमले मूल्यांकन तथा पुनरावलोकन प्रक्रियापछि सो नतिजा सार्वजनिक गरेको हिमालप्रेसले लेखेको छ।
यसका लागि बेइजिङस्थित नेपाली दूतावास र ओभरसिज चाइनिज च्यारिटी फाउण्डेशन अफ चाइना बीचको सहकार्यबाट संयुक्त रूपमा छनौट प्रक्रिया अपनाएको जनाइएको छ। दूतावासले ओभरसिज चाइनिज च्यारिटी फाउण्डेशन अफ चाइनासँगको सहकार्यमा बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति २०२५ का लागि गत अक्टुबर महिनामा आह्वान गरेको थियो।
चीनभरिका विभिन्न प्रान्त र सहरका विश्वविद्यालयमा क्रमशः स्नातक, स्नातकोत्तर, एमडी, पीएचडी तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूले सो छात्रवृत्ति पाएका छन्। जहाँ प्रथम पुरस्कारस्वरूप १० हजार चिनियाँ युआन र दोस्रो पुरस्कारस्वरूप ५ हजार चिनियाँ युआन रहेको छ।
प्रथम पुरस्कारस्वरूप १० हजार चिनियाँ युआन बेहाङ विश्वविद्यालयमा मास्टर्स डिग्रीमा अध्धयनरत् चन्दनकुमार साहले पाएका छन् भने बाँकी ११ जनाले दोस्रो पुरस्कारस्वरूप ५ हजार चिनियाँ युआन पाएका छन्। दोस्रो पुरस्कार पाउनेहरू क्रमशः विभुष श्रेष्ठ, याङचौ विश्वविद्यालय, मन्दिप मणि सुरज, क्विलिन मेडिकल विश्वविद्यालय, प्रविण विक्रम केसी, होहाई विश्वविद्यालय, नीराग बस्नेत, ऊहान विश्वविद्यालय, कोशिश शर्मा, नानचिङ विश्वविद्यालय, अनिश तिवारी, बेइजिङ विश्वविद्यालय, अक्सरा रेग्मी, साङहाई च्याथोङ विश्वविद्यालय, सिन्धु पण्डित, बेहाङ विश्वविद्यालय, समता बज्राचार्य, बेइजिङ विश्वविद्यालय, सङ्केत यादव, सछ्वान विश्वविद्यालय, सरिता सापकोटा, स्यामन विश्वविद्यालय रहेका छन्।
नेपाल र चीनबीच हजारौँ वर्ष पुरानो मैत्रीपूर्ण आदानप्रदानको इतिहास रहेको छ। सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, आपसी समझदारी, आपसी लाभ र साझा जीत सहकार्यको आधारमा स्थिर रूपमा विकास भएको छ। बेल्ट एण्ड रोड इनिसिएटिभको एक महत्त्वपूर्ण साझेदारको रूपमा नेपाल र चीन बीचको सम्बन्ध थप घनिष्ठ बनेको छ।
चीनको बेल्ट एण्ड रोड पहलमा शैक्षिक आदानप्रदानलाई द्विपक्षीय सम्बन्धको एक महत्त्वपूर्ण भागको रूपमा सूचीबद्ध गरिएको छ। सोही अनुरूप, धेरै नेपाली विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, कृषि र सामाजिक विज्ञानका क्षेत्रमा शैक्षिक आदानप्रदान र सहकार्यबाट लाभ पाएका छन्।
CGTN





