न्यूँ डाँफे स्पोर्ट्स क्लब : भ्रष्टाचारको छायाँबाट पुनर्जागरणको मोडमा

खजुरा, कात्तिक २४। सन् १९८१ (वि.सं. २०३८) मा स्थापित न्यूँ डाँफे स्पोर्ट्स क्लब, जुन एक समय खजुराको खेलकुद तथा साँस्कृतिक पहिचानका रूपमा चिनिन्थ्यो। पछिल्ला वर्षहरूमा क्लबले भ्रष्टाचार र आन्तरिक विकृतिको जालमा फँसेर आफ्नो गौरव गुमाएको थियो। अहिले भने यही क्लब नयाँ पुस्ताको नेतृत्वमा पुनर्जागरणको दिशातर्फ अघि बढ्ने संकेत देखिएको छ।
गजबहादुर सिञ्जाली, कर्णबहादुर थापा, तीर्थराज गिरी, लालबहादुर थापा, मोहनबहादुर खड्का, जसवीर खड्का, नन्दराम पौडेल, सज्जल थापा, अर्जुनसिंह पाण्डे, बालवीर थापा, लोकबहादुर खत्री, गगन सुनार, कृष्णबहादुर खत्री, प्रेम केसी र शंकर गिरीजस्ता अग्रजहरूको समर्पणले यो क्लब २०४० र २०५० दशकमा राष्ट्रियस्तरको परिचयमा पुगेको थियो। खेलकुद, साँस्कृतिक गतिविधि, सामाजिक अभियान र युवाको नेतृत्व विकासमा यस क्लबको योगदान प्रशंसनीय थियो। त्यतिबेला यो क्लब नेपालमै सकारात्मक गतिविधिका लागि चर्चामा थियो। पछि यस क्लबमा पूर्णचन्द्र उपाध्याय अर्थात प्रल्हादले प्रवेश गरे, त्यसपछि यो क्लब भ्रष्टाचारको केन्द्रमा रुपान्तरण हुन थालेको हो।
तर, समयक्रममा क्लबको नेतृत्व जिम्मेवारीभन्दा फाइदामुखी बनेको जनमत छ। खेलकुदका नाममा रकम संकलन, कार्यक्रमका नाममा चन्दा माग्ने र त्यसैमा व्यक्तिगत स्वार्थ मिसाउने प्रवृत्तिले क्लबको नैतिक हैसियत खस्कँदै गयो।
स्थानीय स्रोतहरूका अनुसार पछिल्लो दशकमा क्लब केही राजनीतिक समूह, विशेषगरी नेकपा (एमाले) निकट कार्यकर्ताहरूको नियन्त्रणमा पुगेपछि क्लबको चरित्र बदलियो। “क्लब खेलकुदको संस्थाभन्दा पनि ठगी खाने र रमाइलो गर्ने थलो जस्तो भएको थियो।” स्थानीय युवाको गुनासो पनि यही छ। क्लबका नाममा उठाइएका रकम, विशेष गरी फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रममा संकलित रकममध्ये झण्डै पाँच लाख रुपैयाँ भन्दा बढी रकम बेपत्ता भएको आरोप अहिले स्थानीय स्तरमा चर्चाको विषय बनेको छ। यसअघिको क्लब नेतृत्वले सामूहिक राजीनामा दिएपछि पछिल्लोपटक फुटबल प्रतियोगिता सञ्चालनका लागि उठाएको चन्दा रकम मध्ये झण्डै साढे पाँचलाख अपचलन गरेको पुष्टि भएको छ। उनीहरूले उक्त रकमको हिसाबकिताब दिन सकेनन्। जाे रकम पुरानो समितिबाट असुली गरिनुपर्ने माग बढिरहेको छ।
अब भने नयाँ पुस्ताले यो पतनको अन्त्य गर्ने अभियान थालेका छन्। बालाराम खत्रीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले विगतका सबै आर्थिक गतिविधिको छानबिन गर्ने र हिनामिनाको रकम असुल गर्ने प्रतिबद्धता जनाइसकेको छ।
खत्री नेतृत्वको टोलीले ‘क्लबलाई फेरि नमूना संस्था बनाउने’ प्रतिज्ञा गरेको छ। स्थानीय बासिन्दा आशावादी छन्, यो नयाँ नेतृत्वले पुरानो अन्याय र भ्रष्टाचारको जरो उखेल्नेछ। र, क्लबलाई पुनः नयाँ उचाइ प्रदान गर्नेछ।
एक स्थानीय बुद्धिजीवी भन्छन्, “न्यूँ डाँफे क्लब हाम्रो इतिहास हो। यो क्लबलाई पुनः शुद्धीकरण गरेर युवाको सम्मान र सामूहिकता फर्काउनु अहिलेको माग हो। बालाराम खत्रीले त्यस दिशामा कदम चाले भने समाजले पनि साथ दिनेछ।”
यसैबीच, ब्रदर्स एफसी जबर्जस्त उदय भएको छ। यो क्लबले फुटबल खेललाई युवामुखी नीतिका साथ अगाडि बढाइरहेको छ साथसाथै सामाजिक गतिविधिलाई पनि प्राथमिकतामा राखेर सँगसँगै बढाएको छ। ब्रदर्स फुटबल क्लबले कुनै चन्दा नउठाई आफ्नै सदस्यहरूको सहयोगमा सडक बत्ती व्यवस्थापन गरेको उदाहरणीय कामले सबैको ध्यान तानेको छ।
खेल र कार्यक्रमका नाममा चन्दा संकलन र त्यसैमा भ्रष्टाचार गर्ने चलन फैलिरहेका बेला ब्रदर्स एफसीले ‘क्लब आत्मनिर्भर र पारदर्शी हुन सक्छ’ भन्ने सन्देश दिएको छ। स्थानीय बासिन्दा खुशीले गदगद छन् “खेलकुद संस्थाले समाजलाई उज्यालो देखाएको छ,” उनीहरू भन्छन्।
अब सबैको नजर न्यूँ डाँफे क्लबतर्फ केन्द्रित छ।
स्थानीयहरू पर्खिरहेका छन्, के नयाँ नेतृत्वले साँच्चिकै विगतका पदाधिकारीहरूबाट हिनामिनाको रकम असुल गर्नेछ? के क्लब फेरि खेल र सामाजिक सेवामा उदाहरण बन्नेछ?
यदि बालाराम खत्री नेतृत्वले पारदर्शिता, जिम्मेवारी र नैतिक नेतृत्व प्रदर्शन गर्न सके, भने न्यूँ डाँफे क्लब पुनः ‘जनताको गौरव’ बन्न सक्छ। तर, यदि सुधार अभियान पनि राजनीतिक मोलतोलमा हरायो भने, खराब इतिहास पुनः दोहोरिनेछ।
न्यूँ डाँफे स्पोर्ट्स क्लबको वर्तमान अवस्था नेपालका धेरै स्थानीय संस्थाहरूको प्रतिनिधि कथा हो, जहाँ संस्थागत उद्देश्यभन्दा व्यक्तिगत स्वार्थले वर्चस्व लिन्छ। तर नयाँ पुस्ताको ईमानदार पहलले त्यो कथा बदल्न सक्छ। सुधारको बाटो कठिन छ, तर असम्भव होइन। यदि पारदर्शिता, जवाफदेहिता र सामूहिक हितलाई प्राथमिकता दिइयो भने क्लब पुनः आफ्नै गौरवशाली यात्रातर्फ फर्कन सक्छ।





