जेनजीहरूलाई गृहमन्त्रीको जवाफ : काम भैरहेको छ, भन्न मिल्दैन

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेका गृहमन्त्री ओमप्रकाश अर्यालले परिणाममुखी कामका लागि धर्य गर्न आग्रह गरेका छन् ।
गृह मन्त्रालय संवेदनशील भएकाले कतिपय विषय बाहिर भन्न नमिल्ने बताउँदै उनले काम भने भैरहेको दाबीसमेत गरे । शुद्ध चित्तले काम गरिरहेको उनको भनाइ छ ।
‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ’, सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्यालले भने, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरु बिकल्प हुँदैन ।’
उनले सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्याउने सरकारको अभिभारा पूरा गर्ने प्रतिवद्धता पनि दोहोर्याएका छन् ।
‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ’, गृहमन्त्री भन्छन्, ‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।’
Jana Aastha





