रेलमार्गको अन्तिम स्टेसन निर्माण पुनः सुरु

लामो समयसम्म जग्गा मुआब्जा विवादका कारण अवरुद्ध भारतको बथनाहा–कटहरी रेलमार्गको अन्तिम स्टेसन निर्माण अगाडि बढेको छ । हुलाकी राजमार्गसम्म रेलमार्ग निर्माण भइसकेको छ तर त्यहाँबाट उत्तरमा पर्ने एक हजार एक सय मिटर क्षेत्रमा मुआब्जा विवादका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । उक्त विवाद समाधान भएपछि निर्माणले गति लिएको हो ।

रेलमार्ग निर्माण गरिरहेको भारतीय सरकारी स्वामित्वको कम्पनी इर्कोन इन्टरनेसनल लिमिटेडले ७० लाख भारतीय रुपियाँ लगानी गरेर एक हजार एक सय मिटर लम्बाइमा पर्ने ६६ बिघा जग्गामा तारबार लगाएको हो ।

इर्कोनले जग्गामा तारजाली लगाउने काम सम्पन्न हुनासाथ रेलमार्ग निर्माण गर्न बाँकी भाग र रेल्वे स्टेसन क्षेत्रमा माटो पुर्ने कामका लागि बोलपत्र आह्वान गरिसकेको छ। उक्त ६६ बिघा क्षेत्रलाई छ फिट अग्लो बनाउने गरी माटो पुर्ने कामका लागि २० करोड ५६ लाख भारु अर्थात् ३२ करोड ७९ लाख ६० हजार रुपियाँमा ठेक्का लगाउने गरी बोलपत्र आह्वान गरेको हो ।

उक्त बोलपत्रमा प्रस्ताव दर्ता गर्ने बिहीबार अन्तिम दिन भए पनि आवश्यक सङ्ख्यामा प्रस्ताव नआएका कारण थप सात दिनको म्याद थप गरिएको जानकारी प्राप्त भएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो । अर्को हप्ता माटो पुर्ने कार्यका लागि ठेक्का लागेपछि तुरुन्तै करिब १९ करोड भारतीय रुपियाँ लागतमा स्टेसन भवन निर्माणको ठेक्का लगाउने तयारी भइरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “धेरै वर्षदेखि रोकिएको रेलमार्ग निर्माणको काम अहिले धमाधम अगाडि बढिरहेको छ, अधिग्रहण गरिएको जग्गामा तारबार लगाइसकेको छ भने अर्को हप्तासम्म माटो पुर्ने ठेक्का लाग्ने जानकारी मलाई औपचारिक रूपमा दिइएको छ। त्यसपछि लगत्तै स्टेसन भवन निर्माणको ठेक्का खोल्ने तयारी इर्कोनको छ ।”

सन् २०११ मा सुरु गरेको उक्त परियोजना २०१८ मा सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न अवरोधका कारण समयमा सम्पन्न हुन सकेको थिएन । जग्गाको मुआब्जा विवाद लामो समय चल्दा रेलमार्ग अधुरो रहन गएको थियो । अब भने रेलमार्ग निर्माण भई कटहरीसम्म कार्गो रेल सञ्चालन हुने आशा स्थानीयमा पलाएको छ ।

भारतीय पक्षले एक वर्षभित्र कार्गो रेल नियमित सञ्चालन गर्ने गरी आवश्यक सबै काम सम्पन्न गर्ने तयारीसाथ निर्माण अगाडि बढाएको जानकारी आफूलाई दिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्र्याक खोल्ने, माटो पुर्ने र लिक बिछ्याउने कामसँगै स्टेसन निर्माण गरी त्यहाँ भवन बनाउने काम सकेर एक वर्षभित्र रेल आवतजावत गराउने र बाँकी काम गर्दै जाने भन्ने कुरा उनीहरूले मलाई भनिरहेका छन् । त्यसै अनुसार काम पनि अगाडि बढेको देखिन्छ । त्यसमा मैले पनि नियमित रूपमा फ्लोअप गरिरहेको छु ।”
भारतको बथनाहादेखि कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ। त्यसमा ५६५ जग्गाधनीको ११९ बिघा जग्गा अधिग्रहण गरिएको गोरखापत्र अनलाइनमा खबर छ ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button