राप्रपा केन्द्रीय समिति बैठक स्थगनमा आलोचना, नेतृत्वसँग स्पष्टीकरणको माग

काठमाडौं, कार्तिक २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रै आन्तरिक विवाद र राजनीतिक संकटको चुनौतीबीच पार्टीको केन्द्रीय समितिको बैठक लगभग एक महिना स्थगित गरिएकोमा सदस्यहरू र समर्थकहरूबीच असन्तुष्टि देखिएको छ।
पार्टीका एक धेरै केन्द्रीय सदस्यहरूले सार्वजनिक रूपमा सोध्न थालेका छन् कि, “यस्तो संकटकालीन परिस्थितिमा केन्द्रीय समितिको बैठक पटक-पटक गरी नयाँ भिजन र युवाहरूको जोशको साथ ताजा जनादेश लिएर जनताको घर-घर जानुपर्ने हो। तर कार्तिक २७ र २८ गते हुन लागेको बैठक किन एक महिना पछाडि धकेलिएको हो?”
यो स्थगनले पार्टीभित्रै असमंजसको स्थिति निम्ताएको छ। पार्टीका एक वरिष्ठ नेता अनुरुद्ध भट्टराईले भने, “अहिलेको राजनीतिक परिवेशमा सबै प्रमुख राजनीतिक दलहरूले आफ्ना केन्द्रीय बैठकहरू सम्पन्न गरिसकेका छन्। यस्तो अवस्थामा फरक राष्ट्रवादी विचारधाराको दल भनिएकी राप्रपाको नेतृत्व केन्द्रीय समिति बैठकबाट किन टाढा हुँदैछन्? नेतृत्वले यसको पनि जवाफ दिनुपर्छ।”
स्थगनको कारण र बैठकमा नेतृत्वको भूमिकाबारे स्पष्टीकरणको माग गर्दै आन्तरिक समूहहरूले नेतृत्वलाई “जवाफविहीन” र “मौन” नबस्नु पर्ने माग राख्दै आएका छन्।
राप्रपाको आधिकारिक प्रवक्ताबाट अहिलेसम्म यस सम्बन्धमा कुनै सार्वजनिक बक्तव्य आएको छैन। तर पार्टी स्रोतहरूले भने आगामी मङ्सिर महिनामा बैठक बोलाउने तयारी भएको र त्यसबाट नै पार्टीले नयाँ रणनीतिक दिशा लिने सम्भावना रहेको जानकारी दिएका छन्।
राजनीतिक विश्लेषकहरूको भनाइ छ – पार्टीभित्र रहेका गुटगत विवाद, नीतिगत असंगति र संगठनात्मक एकताको अभावले नै बैठक लगातार स्थगन हुने वा सदस्यहरूले सहभागिता जोगाउने प्रवृत्ति बढेको हो।
यस विषयमा पार्टी नेतृत्वले शीघ्र नै स्पष्टीकरण दिएर आन्तरिक मतभेदहरू मिलाउने र संकट निवारणका लागि ठोस कदम चाल्ने अपेक्षा पार्टीका कार्यकर्ता र समर्थकहरूले गरेका छन्।





