मुख्यमन्त्री एमलाल कडेलको प्रमुख आतिथ्यमा जाजरकोटमा अगुवा कार्यकर्ता भेटघाट सम्पन्न

जाजरकोट, कात्तिक २४।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय एमलाल कडेलको प्रमुख आतिथ्यमा हिजो जाजरकोट खलंगामा अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको जाजरकोटका सक्रिय नेता धर्मबहादुर शाहीले बताउनु भएको छ।

धर्मबहादुर शाहीका अनुसार उक्त कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव सुनिता बोहराले गर्नुभएको थियो। कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कमरेड सेर बहादुर बुढाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज कमरेड भैरवसुन्दर श्रेष्ठले जिल्लाको समग्र राजनीतिक अवस्था, पार्टीको सुदृढ संगठन निर्माण, र एमालेले खेलेको भूमिकाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

मुख्यमन्त्री कडेलले आफ्नो मन्तव्यका क्रममा भने, “नेकपा एमालेले लिएका नीति र कार्यक्रमहरू देशको स्थायित्व, विकास र समृद्धिका लागि सही दिशामा केन्द्रित छन्। अहिलेको राष्ट्रिय अभियानमा सबै नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर जुट्नु आवश्यक छ,” भन्दै संगठनात्मक सुदृढता र जनस्तरमा विश्वास अभिवृद्धिका लागि कार्यकर्ताहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिनुभयो।

मुख्यमन्त्रीले हालैका राजनीतिक परिदृश्यमा एमालेको नेतृत्वले कर्णाली प्रदेशमा विकास र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै स्थानीय तहमा जनताका मागलाई सम्बोधन गर्ने कार्यप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरू, जिल्ला कमिटीका पदाधिकारीहरू, जनवर्गीय संगठनका प्रतिनिधि तथा सयौं कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई पार्टीका तर्फबाट आगामी अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button