राँगाभैँसी पाल्न ५० प्रतिशतसम्म अनुदान दिइने

नेपाल सरकारले राँगाभैँसी खरिद, गोठ निर्माण र घाँस लगाउनका लागि किसानलार्ई ५० प्रतिशतसम्म अनुदानको उपलब्ध गराउने व्यवस्था गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात अभिवृद्धिका लागि राँगाभैँसी प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधिमार्फत सो व्यवस्था गरेको हो। मन्त्रालयले हालै कार्यविधिलाई कार्यान्वयनमा ल्याएको गोरखापत्र अनलाइनले लेखेको छ।
नेपालबाट विभिन्न मुलुकमा व्यावसायिक रूपमा मासु निर्यात गर्ने उद्देश्यले सो कार्यविधि कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

कार्यविधिबमोजिम मासुका लागि पाडापाडी खरिद तथा ढुवानी, गोठ निर्माण सुधार र घाँसे बाली तथा आहारा व्यवस्थापन, पशु पहिचान तथा अभिलेखीकरण क्रियाकलाप सञ्चालन गरिने छ। यस्तै औषधी उपचार, परजीवी नियन्त्रण तथा खोप कार्यक्रम सञ्चालन पनि यसमा समावेश गरिएको छ। पशुपालनका लागि यन्त्र उपकरण औजार सहयोग र जैविक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ।

कार्यविधि अनुसार मासुका लागि पाडापाडी खरिद तथा ढुवानीको हकमा प्रस्तावको कुल लागतको अधिकतम ५० प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था गरिएको छ। पाडापाडी खरिद गर्दा उपलब्ध भएसम्म सरकारी वा निजी स्रोत केन्द्रबाट खरिद गर्नुपर्ने छ भने पशु बिमा पनि अनिवार्य गरिएको छ।

यो कार्यक्रमको कार्यान्वयन जिल्ला पशुसेवा कार्यालयमार्फत सञ्चालन हुने छ र स्वीकृत वार्षिक कार्यक्रममा उल्लेख भए अनुसारका जिल्ला यो कार्यक्रमको कार्यक्षेत्रका रूपमा रहने छन्। कार्यविधिबमोजिम स्वीकृत भएको प्रस्ताव अनुसार क्रियाकलाप सञ्चालन गर्न कुल लागत अनुमानको बढीमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ।

गत साउनमा चिनियाँ साझेदारीमा सिन्धुलीमा निर्माण हुने गरी भैँसीको मासु प्रशोधन उद्योग (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि २० अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि स्वीकृत भइसकेको छ। फ्याक्ट्री स्थापनाका लागि चीनको सिचुआन प्रान्तस्थित छेङ्दु जियान फुड कम्पनी लिमिटेडको २० अर्ब रुपियाँ लगानी उद्योग विभागमा स्वीकृत भएको हो। फ्याक्ट्री स्थापनाका लागि पूर्वाधार निर्माणको काम भइरहेको हिमालय इन्टरनेसनल प्रालिले जनाएको छ।

प्रालिका अध्यक्ष डा. नवीन शर्माले सिन्धुलीमा फ्याक्ट्री निर्माण आगामी मङ्सिरदेखि सुरु हुने जानकारी दिनुभयो। “गत भदौ २३/२४ मा भएको जेनजी आन्दोलनले चिनियाँ लगानीकर्ता फर्केर गएकाले निर्माणमा केही ढिलाइ भयो,” उहाँले भन्नुभयो, “लगानीकर्ता आइसकेकाले जतिसक्दो छिटो पूर्वाधार निर्माणको काम अगाडि बढाइने छ।”

मासु उद्योग निर्माणका लागि सिन्धुलीमा १४ बिघा जग्गा खरिद गरिसकेको र बाँकी जग्गा प्राप्त हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो। उद्योगका लागि ५० बिघा जग्गा आवश्यक पर्छ। उद्योग निर्माण दुई सिफ्टमा काम गराएर आठ महिनाभित्रमा सक्ने योजना छ। असोजमा ढुङ्गा गिट्टीबालुवा निकाल्न नपाएकाले निर्माणको काम ढिलाइ भएको कम्पनीले जनाएको छ। एक वर्षभित्रमा मासु निर्यात गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ। नेपालबाट दैनिक पाँच सय टन मासु निर्यात गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। धेरै जिल्लाका किसान जोडिएकाले १५ मङ्सिरदेखि राँगाभैँसीपालनको काम सुरु गरिने कम्पनीले जनाएको छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button