यस वर्ष मुलुकभर धान उत्पादन घट्ने अनुमान

यस वर्ष मुलुकभर धान उत्पादन घट्ने अनुमान गरिएको छ । असोज र कात्तिकमा आएको वर्षा र बाढीका कारण धानमा क्षति पुगेकाले चारदेखि पाँच लाख मेट्रिक टन कमी आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले यस वर्ष धानको उत्पादनमा कमी आउने देखिएको जानकारी दिनुभयो । बेमौसमी वर्षा र डुबानका कारण पाकेको धानमा क्षति पुर्याएकाले पनि उत्पादनमा कमी आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। सातै प्रदेशबाट धानको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष मधेश प्रदेशमा सुक्खा र खडेरीका कारण किसानले समयमा धान रोप्न पाएका थिएनन् । खडेरीका कारण कम क्षेत्रफलमा धान रोपाइँ भएको र पछि आएको बैमौसमी वर्षाले धानको उत्पादन कमी आउने देखिएको मन्त्रालयले जनाएको छ ।
बाढी र वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण आए पनि अन्तिम विवरण सङ्कलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । धान उत्पादन बढी हुने तराईका जिल्लामा वर्षा र डुबानले ठुलो क्षति पु¥याएको छ । असोज दोस्रो साता आएको वर्षाले कोशी र मधेश प्रदेशमा बढी क्षति पु¥याएकाले उत्पादनमा कमी आउने देखिएको मन्त्रालयले जनाएको छ ।
मुलुकभर गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो। मुलुकभर १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यो वर्ष गत वर्षको तुलनामा २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ कम भएकाले पनि उत्पादनमा कमी आउने गोरखापत्र अनलाइनमा खबर छ।
मनसुन सकिएपछि गत असोजमा आएको बेमौसमी वर्षाले कोशी प्रदेशमा ५६ हजार मेट्रिक टन बराबरको धानबालीमा क्षति भएको मन्त्रालयको तथ्याङ्क छ । यस्तै मधेश प्रदेशमा छ हजार ५३ हेक्टर क्षेत्रफलमा लगाएको २३ हजार ६६४ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ ।
असोज दोस्रो साता आएको वर्षा र बाढीका कारण सबैखाले बाली, चौपाया र कृषि पूर्वाधारसहित तीन प्रदेशमा तीन अर्ब ५५ करोड रुपियाँ बराबरको क्षति भएको छ । कात्तिकमा आएको वर्षा र डुबानले पारेको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीले कर्णाली र सुदूरपश्चिम प्रदेशमा असर नपु¥याए पनि अन्य प्रदेशमा भने क्षति भएको छ । वर्षाले धान, तरकारी, मत्स्य, पशुपन्छीमा क्षति पु¥याएको छ ।
यसैबिच स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा धानचामल आयात हुने गरेको छ । यो वर्ष पनि उत्पादन कम हुँदा धानचामलको आयात थप बढ्ने देखिएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा २१ अर्ब ५२ करोड ३७ लाख ८४ हजार रुपियाँ बराबरको पाँच लाख ३३ हजार ७१५ मेट्रिक टन धान आयात भएको थियो । यस्तै १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपियाँ बराबरको दुई लाख ४१ हजार ५५३ मेट्रिक टन चामल आयात भएको थियो । स्थानीय उत्पादनले माग धान्न नसक्नु र मसिनो चामल खाने बानीका गर्दा पनि बाहिरी मुलुकबाट धानचामल आयात हुने गर्छ ।
CGTN





