केपी ओली भन्ने झापा निवासीले नेकपा धराशायी बनाइदिए : भीम रावल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डाक्टर भीमबहादुर रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिष्ट आन्दोलन धराशायी भएको बताएका छन् ।ओलीको अहङ्कारले तत्कालीन नेकपा विघटन भएको उनले दाबी गरे ।

आफू नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ र नेपाली कम्युनिष्ट पार्टीबीच एकता घोषणा कार्यक्रममा बोल्दै रावलले भने, ‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको मलाई सम्झना भैरहेको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको बाचा र संकल्प एक जना व्यक्तिको अहङ्कार, सत्ता स्वार्थ, विरोधी दलसँग मिलेर भए पनि सत्ता लिप्सामा लागेर नेकपा ध्वस्त पारेको दुःखदायी क्षण म झम्झिरहेको छु ।

नेकपाको दुई तिहाइको बहुमत ओलीकै कारण खेर गएको बताउँदै पार्टी फुटाउन अदालतलाई समेत दुरूपयोग गरिएको उनले आशंका गरे ।

‘तपाईंहरू सोध्नुहोला, कम्युनिष्ट पार्टी त बनाएकै थियौँ । केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । मलाई पनि लागेको थियो अब देश समृद्धितिर जानेछ’, रावलले भने ‘हेर्नुस् त दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधिसभा विघटन पो गरेछन् । सर्वोच्चले भन्यो- संविधानविरीत भयो । मैले सुनेको त्यतिबेला प्रधान्यायाधीश उहाँ निकट नै हुनुहुन्थ्यो रे !’

सर्वोच्चको आदेश नमानेर ओलीले फेरि संसद् विघटन गरेको घटना स्मरण गर्दै रावलले यसलाई कम्युनिष्ट आन्दोलनमाथिको गद्दारी भने । ‘उहाँले फेरि विघटन गर्नुभयो । यस हिसाबले बस्तु र तथ्यलाई मान्यौँ भने केपी ओलीभन्दा गद्दारी अरु कोही हुन्छ ?’, उनको भनाइ छ, ‘नेकपाको जुन आकांक्षा राखेका थियौँ, त्यसलाई केपी ओली भन्ने एक जना झापा निवासीले धराशायी बनाइदिए ।’

कम्युनिष्ट आन्दोलन सुदृढ बनाउन एमालेमा भएकाहरूलाई पनि नेकपमा एकतावद्ध गर्दै अघि बढ्ने पनि रावलले बताएका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button