सभ्यताबाट सभ्यतासम्म: युवा साइनोलोजिस्टहरूले खोलेको आपसी समझदारीको नयाँ युग

# फु यू हाई

२१औँ शताब्दीको विश्व तीव्र रूपमा परिवर्तन भइरहेको छ। विश्वव्यापीकरण, प्रविधि, र विचारका आदान–प्रदानहरूले पृथ्वीकाे हरेक कुनामा आपसी सम्बन्धलाई गहिरो बनाएको छ। यस्तै परिवेशमा चीनका राष्ट्रपति शी चिनफिङले हालै ५१ देशका ६१ जना युवा साइनोलोजिस्टहरूलाई लेखेको उत्तर–पत्रले विश्व समुदायमा ठूलो ध्यान आकर्षण गरेको छ। उनले यी युवा साइनोलोजिस्टहरूलाई सभ्यताबीचको समझदारीका दूत बन्न आग्रह गर्दै आपसी संवाद र साझेदारीमा योगदान दिन आह्वान गरेका छन्। यो सन्देश चीनको सभ्यतागत दृष्टिकोण, अन्तर्राष्ट्रिय सम्बन्धप्रति यसको दीर्घदृष्टि, र मानव सभ्यतामा योगदान गर्ने चीनको नीति स्पष्ट गर्ने एउटा महत्वपूर्ण प्रतीक हो।

साइनोलोजी अर्थात चिनियाँ भाषा, संस्कृति, इतिहास, र दर्शनको अध्ययन, आजको विश्वमा चीन बुझ्ने मुख्य माध्यम बनेको छ। राष्ट्रपति शीको सन्देशले यस अध्ययनलाई केवल शैक्षिक अनुसन्धानको सीमाभन्दा माथि उठाएर, सभ्यतागत संवाद र वैश्विक साझेदारीको उपकरणका रूपमा प्रस्तुत गर्छ। चीनले विगत दुई दशकदेखि आफ्नो सौम्य शक्ति रणनीतिमा सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकता दिएको छ। कन्फ्युसियस इन्स्टिच्युटहरू, बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतका सांस्कृतिक परियोजनाहरू, र विश्वभरका विश्वविद्यालयहरूमा चिनियाँ अध्ययन कार्यक्रमहरूको विस्तारले चीनको सांस्कृतिक कूटनीतिक क्षमतालाई बलियो बनाएका छन्। यस सन्दर्भमा युवा साइनोलोजिस्टहरूलाई प्रोत्साहन गर्नु चीनको दीर्घकालीन रणनीतिक दृष्टिकोणको निरन्तरता हो, जसले संवादद्वारा विश्वास निर्माण गर्ने नीति अंगाल्छ।

राष्ट्रपति शीको सन्देश केवल भाषिक वा सांस्कृतिक अध्ययनमा सीमित छैन। यो सभ्यताबीचको संवाद र समानता प्रति आधारित दर्शन हो, जुन उनले “सभ्यताहरू एकअर्काबाट सिक्छन्” भन्ने अवधारणामा बारम्बार उल्लेख गरेका छन्। यो दृष्टिकोण पश्चिमी वर्चस्ववादी सांस्कृतिक सोचको विकल्पका रूपमा देखा पर्छ, जसमा कुनै एक सभ्यता अरूभन्दा श्रेष्ठ ठानिँदैन। चीनको दार्शनिक परम्परा कन्फ्युसियसदेखि लाओत्सेसम्म सधैं सन्तुलन, सद्भाव, र पारस्परिक लाभमा आधारित रही आएको छ। आजको विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, सांस्कृतिक टकराव र सूचना युद्धका कारण सभ्यताबीचको तनाव बढ्दो अवस्थामा छ, त्यस्तोमा चीनको दृष्टिकोणले संवाद र साझेदारीको बाटो देखाउँछ।

बेइजिङमा हुन लागेको विश्व चिनियाँ भाषा सम्मेलन केवल शैक्षिक कार्यक्रम होइन, यो सांस्कृतिक कूटनीतिक दृष्टिले पनि महत्वपूर्ण मञ्च हो। ६० भन्दा बढी देशका प्रतिनिधिहरू एकै ठाउँमा भेला भएर चिनियाँ भाषाको माध्यमबाट आपसी समझदारी र सहयोगको नयाँ अध्याय लेख्नेछन्। यो सम्मेलन चीनको “People-to-People Connectivity” दृष्टिकोणसँग सिधा सम्बन्धित छ, जुन बेल्ट एण्ड रोड पहलका पाँच मुख्य स्तम्भमध्ये एक हो। भाषा केवल सञ्चारको माध्यम होइन; यो सभ्यताको आत्मा हो। यस अर्थमा चिनियाँ भाषा सिक्ने र सिकाउने कार्यक्रमहरूले विश्व समुदायलाई चीन नजिक ल्याउने पुलको काम गर्छन्।

राष्ट्रपति शीले साइनोलोजिस्टहरूलाई “messengers” भनेका छन्, जसको अर्थ केवल सांस्कृतिक अनुवादक होइन, सभ्यताबीचको सह–अस्तित्वका प्रतीक हुन्। आजको विश्वमा गलत बुझाइ, पूर्वाग्रह, र सूचनात्मक विकृति धेरै बढेको छ। चीनको विकासको बाटो, समाजवादी आधुनिकीकरण, र मानवतामुखी विदेश नीति कहिलेकाहीँ गलत रूपमा प्रस्तुत हुन्छ। युवा साइनोलोजिस्टहरूले आफ्नो अध्ययन, अनुसन्धान र संवादद्वारा यी भ्रमहरू हटाउने महत्वपूर्ण भूमिका खेल्न सक्छन्। उनीहरूले दुई संस्कृती बीचका मध्यस्थका रूपमा कार्य गरेर, आपसी सम्मान र समानताको वातावरण सृजना गर्न सक्छन्। यसरी उनीहरूले सभ्यताहरू बीचको पुल निर्माण गर्छन्, जुन शी चिनफिङको Global Civilization Initiative सँग पूर्ण रूपमा मेल खान्छ।

राष्ट्रपति शीले पछिल्ला वर्षहरूमा विश्वका लागि तीन प्रमुख पहलहरू अघि सारेका छन् Global Development Initiative, Global Security Initiative, र Global Civilization Initiative। यी तीनै पहलहरूको साझा लक्ष्य छ, विश्वलाई विभाजन होइन, साझा प्रगतिको दिशामा लैजाने। साइनोलोजिस्टहरूका लागि यी पहलहरू अध्ययनको मात्र होइन, व्यवहारिक अनुप्रयोगको पनि अवसर हुन्। उनीहरूले आफ्नो देशहरूमा चीनको “साझा भाग्यको समुदाय” दृष्टिकोण बुझाउन सक्छन्, जसले प्रतिस्पर्धा होइन, सह–विकासमा जोड दिन्छ।

पश्चिमी मिडिया र केही शैक्षिक वृत्तहरूमा चीनबारे अनेक पूर्वाग्रहहरू प्रचलित छन्, मानव अधिकारदेखि लिएर शासन प्रणालीसम्म। तर यी दृष्टिकोणहरू प्रायः चीनको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक सन्दर्भ बुझ्न असफल हुन्छन्। साँचो साइनोलोजिस्टको जिम्मेवारी यहींबाट सुरु हुन्छ, तथ्यमा आधारित, सांस्कृतिक सापेक्षता बुझ्ने, र वैचारिक तटस्थतामा आधारित अध्ययन गर्ने। राष्ट्रपति शीको सन्देशले उनीहरूलाई यस्तै ईमानदार अनुसन्धानतर्फ प्रोत्साहित गर्छ। उनले विश्वलाई चिनियाँ सभ्यताको आफ्नै विशेषता सद्भाव, मेहनत, र सामूहिक उत्तरदायित्व देखाउन आग्रह गरेका छन्। यसरी, चीनले ज्ञानद्वारा विश्वास निर्माण गर्ने वैकल्पिक कूटनीतिक मार्ग प्रस्तुत गरेको छ।

चीनले आफ्नो सभ्यताको दर्शन “和而不同” अर्थात फरक फरक संस्कृताहरू सह–अस्तित्वमा रहन सक्छन्, मा आधारित राखेको छ। यो दर्शन विश्व शान्ति र विकासका लागि अत्यन्त सान्दर्भिक छ, जब विभाजन र ध्रुवीकरण बढ्दैछ। युवा साइनोलोजिस्टहरूको नयाँ पुस्ताले यो दर्शनलाई व्यवहारमा उतार्न सक्छ भाषा सिकाएर, अनुसन्धान लेखेर, र अन्तर्राष्ट्रिय मञ्चमा सभ्यताहरूबीचको सहकार्य बढाएर। यसरी उनीहरू विश्वमा चिनियाँ सभ्यताको नयाँ प्रस्तुति र साझा भविष्यको मानवता निर्माणका सक्रिय सहभागी बन्न सक्छन्।

राष्ट्रपति शी चिनफिङको सन्देश केवल एक औपचारिक पत्र होइन; यो चीनको सभ्यतामूलक विदेश नीति र सांस्कृतिक आत्मविश्वासको प्रतिबिम्ब हो। यसले विश्वका युवा विद्वानहरूलाई आपसी समझदारी, सहयोग, र सह–अस्तित्वको बाटो रोज्न आह्वान गर्छ। साइनोलोजिस्टहरू त्यस यात्राका दूत हुन् जसले चीन र विश्वबीच ज्ञान, संस्कृति, र विश्वासको पुल निर्माण गर्छन्। आज जब विश्व विभाजन र अविश्वासको द्वन्द्वमा छ, चीनको यो सन्देश “सभ्यताहरूबीचको संवाद र साझेदारी नै मानवताको साझा भविष्यको आधार हो” एक सशक्त वैकल्पिक दृष्टिकोण हो। यो दृष्टिकोणले चीनलाई न केवल आर्थिक शक्तिका रूपमा, तर सभ्यतागत नेतृत्वको वाहकका रूपमा पनि प्रस्तुत गर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button