‘कांग्रेस पनि एमालेकै लाइनमा गयो भने ठूलो समस्या सिर्जना हुन्छ’

नेकपा (एमाले)ले संसद पुनःस्थापनाको मागसहित जागरण अभियान चलाएपछि सरकार अफ्ठ्यारोमा परेको छ । एमाले नेता तथा कार्यकर्ताहरुको अडानले प्रधानमन्त्री सुशीला कार्की तनाव परेकी हुन् ।

फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन यतिबेला सरकारले धमाधम मतदाता नामावली संकलनको काम गरिरहेको छ । तर संसद पुनःस्थापनाको माग गर्दै अस्ति (शनिबार) देशभर र्याली निकालेको एमालेले मंसिर ७  राजधानीमा पनि बृहत जागरण सभा आयोजना गर्न लागेपछि प्रधानमन्त्री कार्की र मन्त्रीहरु तोकिएकै मितिमा निर्वाचन हुन नसक्ने हो कि भन्नेमा चिन्तित देखिन थालेका हुन् ।

हिजो सिंहदरबारमा जेनजी युवाहरुसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री कार्कीले एमालेको कारण चुनावी वातावरण सिर्जना गर्न कठिन भइरहेको बताउनुभएको थियो । छलफलमा सहभागी एक जेनजी अगुवा भन्छन्, ‘प्रधानमन्त्रीज्यूले एमालेको कारण टाउको दुख्न थालेको छ भन्नुभयो, सबै दल चुनावकै पक्षमा छन्, तर एमालेले माहोल बिर्गान थालेको उहाँको आशय छ ।’

पूर्व प्रधान्यायाधीश कार्कीले संसद पुनःस्थापना भएमा मुलुकले थप क्षति व्यहोर्न सक्ने विश्लेषण समेत सुनाउनुभएको छ । ‘कांग्रेसले के गर्छ कुन्नी, स्पष्ट भनेको छैन’, कार्कीको भनाई उद्धृत गर्दै ती अगुवाले भने, ‘कांग्रेस पनि एमालेकै लाइनमा गयो भने ठूलो समस्या सिर्जना हुन्छ ।’

यसरी एमालेकै कारण निर्वाचन सम्पन्न गराउन बाधा सिर्जना हुने देखिएपछि प्रधानमन्त्री कार्कीले समन्वयात्मक भूमिका खेलिदिन आग्रहसहित नागरिक समाजका अगुवाहरुसँग छलफल गरेकी छन् । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री कार्यालयमा छलफल जारी छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button