अति भएपछि मन्त्रीको जवाफ : आफैंले सरकार बनाउनू अनि मन लागेको गर्नू

दिनहुँ फरक फरक जेन जी समूह विभिन्न मागसहित सिंहदरबार धाउन थालेपछि मन्त्रीहरु आजित हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन जी युवाहरुलाई ‘आफ्नो माग आफै पूरा गर्न’ भनेका हुन् ।

‘जेन जी २.०’ नामक समूह प्राविधिक शिक्षामा देखिएका समस्या लिएर आज दिउँसो मन्त्रालय पुगेका थिए । ज्ञापन पत्र बुझाउँदै उनीहरुले सात दिनभित्र समस्या समाधान गर्न अल्टिमेटम समेत दिए । तर मन्त्री पुनले भने सबै माग पूरा गर्न नसकिने सोझो जवाफ दिएका हुन् ।

‘तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने, यो भन्दा अर्को उपाय छैन’, उनले भने,  ‘यहाँ माग राख्दै क्यामरा तेर्साएर बस्ने होइन, यस्तो किसिमको माग मन्त्रालयमा राख्ने होइन, आफैं गाउँगाउँमा जाने हो, जितेर आफैं पूरा गर्ने हो ।’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले जेन जी युवाहरुलाई राजधानीमा बसेर मात्र समस्या समाधान नहुने भन्दै गाउँ फर्कन सुझाव दिए ।  ‘जेन जीका भाइबहिनीहरू काठमाडौँ बस्न छाडेर सबै आफ्नो गाउँमा जाउ, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने हो, केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन’, उनले स्पष्टसँग भने ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button