कसले दिन्छ दुर्गा प्रसाईंलाई यस्तो बुद्धि ?

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले गएराती पक्राउ गरेको छ । संगठित रुपमै अराजकता फैलाएकाे आरोपमा उनी भक्तपुरको मध्यपुर ठिमीस्थित निवासबाट समातिएका हुन् ।

संविधान खारेजी र हिन्दुराज्यकाे मागसहित मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका प्रसाईंका पछिल्ला केही अभिव्यक्तिमाथि प्रहरीले सुक्ष्म अध्ययन गर्दै आएको थियोे । उनी पटक पटक हिरासतमा पुगे पनि छुच्चो बोल्न भने कहिल्यै रोकिएनन् ।

नागरिक बचाऊ अभियानको संयोजक समेत रहेका प्रसाईंले सरकार र प्रहरी संगठनलाई चुनौती दिनेगरी पछिल्लो एक हप्तायता मात्रै दर्जनौँ अन्तर्वार्ता र पत्रकार सम्मेलन गरेको देखिन्छ । तर उनले सुध्रिनुभन्दा व्यवस्था नै फाल्ने अर्थहीन योजना सुनाउँदै हिँडेका थिए ।

प्रसाईले साताअघि मात्रै काठमाडौँ महागरपालिकाका मेयर बालेन साहले दूतावासमा बम पड्काउने योजना बनाइरहेको सुनाए । एक अन्तर्वार्तामा खुलेआम भनेका थिए, ‘मंसिर ७ गते यो बालेन र उसको ग्रुप छ नि,उनीहरुले रसियन एम्बेसी,चाइनिज एम्बेसी र अरु दुई चार वटा एम्बेसीमा बम पड्काएर, यो चाहिँ दुर्गा प्रसाईले गराएको हो भन्ने षड्यन्त्र छ,यो मलाई हिजो मात्र आएको सूचना हो ।’

म त अघिल्लो दिन (६ गते) नै प्रहरीमा जाने हो पक्राउ पर्न । हाम्रो एसएसपी थापा (रमेश) सर हुनुहुन्छ, म त पहिले नै गएर आफै आएँ भन्ने हो, त्यहाँ भित्र सुत्ने, खाने, कुद्ने राम्रो ठाउँ पनि छ

त्यतिबेला आन्दोलनको लागि भारतबाट हजारौँ युवाहरु काठमाडौँ आउन लागेको दावी गरेका प्रसाईले केही दिनपछि नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगलाई १५ दिन पछि सार्न पनि आग्रह गरे । अर्को अन्तर्वार्तामा उनले भने, ‘मैले पारस (खड्का)लाई हप्ता दश दिन पछि सार्न आग्रह गरेको थिएँ,तर मानेनन्, पहिला देश बचाऔँ न, क्रिकेट त पछि खेले पनि हुन्छ नि !’

जसरी पनि भीड जम्मा गर्ने दाउमा रहेका प्रसाईको योजनामा एनपिएलले प्रभाव पार्ने देखिएपछि उनी थप आक्रामक बनेको पाइन्छ । हिजो (सोमबार) पनि आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरेका उनले आन्दोलन रोक्न  प्रहरीलाई ठाडो चुनौती दिएका थिए ।

‘आन्दोलनको नेतृत्व गर्न पाँच हजार मान्छे तयार छन्,फस्ट कमाण्डर, सेकेण्ड कमाण्डर, थर्ड कमाण्डर भन्थे नि, सबै खटिसकेका छन् मेचीदेखि महाकालीसम्म, जम्मै तयारी भइसक्यो’, उनले भनेका थिए,  ‘मलाई पक्राउ गरेर केही फरक पर्दैन, म त अघिल्लो दिन (६ गते) नै प्रहरीमा जाने हो पक्राउ पर्न । हाम्रो एसएसपी थापा (रमेश) सर हुनुहुन्छ, म त पहिले नै गएर आफै आएँ भन्ने हो, त्यहाँ भित्र सुत्ने, खाने, कुद्ने राम्रो ठाउँ पनि छ ।’

प्रसाईले आन्दोलनको लागि प्रशासनसँग अनुमति नमाग्ने बताएपछि प्रहरीले उनीमाथि थप निगरानी बढाएर पक्राउ गरेकाे जानकार स्रोत बताउँछ । ‘विद्रोहले कसैको अनुमति माग्दैन, आन्दोलनले कसैको स्वीकृति लिदैँन’, प्रसाईको भनाई थियो ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button