देउवासँग सेनाले सम्पर्क टुटाएको ओलीको दुःखेसो

‘सचिवालयले जे काम गर्नुपर्ने थियो त्यो गर्न सकेन, सूचना संकलन पनि भएन । इन्टरनल डिसइन्फर्मेशन भयो’, भदौ २३ र २४ को घटनामा आफ्नै सचिवालयको भूमिकाप्रति तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पछिल्लोचोटि यस्तो असन्तुष्टि पोखे । ‘जेनजी विद्रोह’ लाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको उक्साहटमा निम्त्याइएको प्रतिक्रान्तिको संज्ञा दिँदै आएका उनले अहिलेसम्म सार्वजनिक रूपमा आफ्नो तर्फबाट भएका कमजोरी स्वीकारेका छैनन् । तर, हालैको एक अनौपचारिक कुराकानीमा भने आफ्नो सचिवालयप्रति पनि सन्तुष्ट सुनिएनन् ।

कात्तिक १७ गते सोमबार अन्तर्वार्ता लिन गुण्डु पुगेका कान्तिपुर टेलिभिजनका पत्रकारहरूसँग ओलीले लामो अन्तरंग संवाद गरे । अन्तर्वार्ता रेकर्ड गराउनुअघि भएको अनौपचारिक कुराकानीमा उनी जेनजी आन्दोलन, नेपाली सेनाको भूमिका, कांग्रेससँगको सहकार्य, संसद पुनस्र्थापनालगायत राष्ट्रिय राजनीतिका समग्र विषयमा खुलेर प्रस्तुत भए । त्यसक्रममा विष्णु रिमाल नेतृत्वको सचिवालय टिमले खेलेको भूमिकाप्रति उनको यस्तो टिप्पणी आएको हो ।

कान्तिपुरका पत्रकार रुपेश श्रेष्ठले लिएको करिब २ घण्टा लामो अन्तर्वार्ता प्रशारणमा आइसकेको छ । तर, त्योभन्दा बढी अनौपचारिक कुराकानी भएको थियो । जहाँ उनले भदौ २४ को घटना पछाडि काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) साहको हात रहेको दावी गरेका थिए । भदौ २४ गते आफूसमेत सुरक्षित नहुने भएपछि राजीनामा दिएर सैनिक सुरक्षामा गएका ओली परिस्थिति अनुकूल भएसँगै केही दिनयता पुरानै अवतारमा देखापरेका छन् । आफू कार्यकारी प्रमुखको कुर्सीमा रहेका बेला देशमा भएको यत्रो विध्वंशप्रति उनमा कुनै पश्चाताप भाव देखिंदैन । कान्तिपुरको अन्तर्वार्तामा पनि त्यस्तै सुनिएका उनी अनौपचारिक कुराकानीमा झन दम्भपूर्ण ढंगले प्रस्तुत भएका थिए ।

त्यसक्रममा नेपाली सेनाबारे चर्को असन्तुष्टि जनाएका उनले २४ गते बिहानैदेखि आफूलाई अघोषित नजरबन्दमा राखिएको खुलासा गरे । जसका कारण राजनीतिक भेटघाट गर्न नपाएको र परिस्थिति सरकारको काबुभन्दा बाहिर पुगेको उनको तर्क थियो ।

सेनाले ज्यानको खतरा देखाएर भेटघाटमा रोक लगाएपछि आफूले ‘डिफेन्स’ को तयारी गर्न नभ्याएको जिकिर गर्दै भने, ‘शेरबहादुरजी र मैले राजनीतिक रूपमा छलफल गर्न पाएको भए यो स्थिति नै आउने थिएन । प्रचण्डजीको धेरै भर त छैन तर उहाँले पनि यो तहसम्म स्वीकार गर्नुहुन्थ्यो होला भन्ने लाग्दैन ।’

अनावश्यक त्रास फैलाएर आफूलाई नेताहरूसँग भेट्न बन्देज लगाएको भन्दै आक्रोशित सुनिएका ओलीको भनाइ रह्यो, ‘युवा साथीहरूले खोज्नुभएको थियो । तर, कसैसँग भेट्न दिइएन, अनावश्यक त्रास फैलाएर १० दिनसम्म डाँडामा लगी राखियो । २५ गते नै स्थिति सामान्य भैसकेको थियो । म बाहिर जान्छु भन्दा पनि उनीहरूले एकदम सोर्स नै लिमिटेड गराएर राखे ।’ फेसबुकलगायत सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिवन्धका कारण बढेको युवा आक्रोशको परिणामका रूपमा २३ र २४ को घटनालाई हेरिएको छ । तर, यो तथ्य स्वीकार नगरेका उनै ओलीले फोन र इन्टरनेटको पहुँचबाहिर आफूलाई राखेको भन्दै आपत्ति जनाए । ‘हातमा ग्याजेट नहुने हो भने त एकदम समस्यामा परिने रै’छ, केही पनि दिएन । नेट नै नचल्ने ठाउँमा राखिदिए । आर्मीले जे सूचना दियो त्यही पत्याउनुपर्ने अवस्था भयो’, ओलीको भनाइ सचिवालय स्रोतले सुनायो ।

आफूलाई मात्र काठमाडौँ बाहिरको ब्यारेकमा पुर्‍याइनुमा ठूलो षड्यन्त्र देखेका ओलीले २५ गते घर फर्किन खोज्दा जबर्जस्ती रोकेर राखिएको पनि खुलासा गरेका छन् । सुदन गुरुङहरूलाई मात्र बाहिर एकोहोरो बोल्न लगाएर सेनाले आफूहरूलाई दबाबमा पारेको उनको दावी थियो ।

‘मलाई मात्र काठमाडौँ बाहिर लैजानुको कारण नै सम्पर्कविच्छेदमा राख्न रहेछ । मलाई नलैजानुस्, पार्टीका साथीहरूलाई भेट्छु, पार्टीका साथीहरूबाट सुरक्षित हुन्छु भन्दा पनि हैन हजुर, हाम्रो जिम्मा छ, गर्नैपर्छ भने’, ओलीको भनाइ रह्यो, ‘बाहिर एकदमै गाह्रो छ भन्ने बनाउन सुदन गुरुङहरूलाई बोल्न लगाएर मलाई लुकाए यिनीहरूले ।’

त्यसक्रममा उनले प्रहरीले सुरक्षा गर्न नसक्ने भयो भन्ने ठानिसकेपछि पार्टीका युवा कार्यकर्ताले २४ गते बिहानै आफूलाई खोजेको तर बाहिर निस्कन नदिइएको गुनासो पनि गरे । ‘म त्यो दिन बिहानै बाहिर निस्कन खोजिरहेको थिएँ, साथीहरूसँग भेटघाट गरौँ, यो सिचुएसनलाई हामीले नै लिड गरेर म्यानेज गर्नुपर्छ भन्ने सोचमा थिएँ तर, आर्मीले बिहानैदेखि दबाबपूर्ण तरिकाले राख्यो’, उनको भनाइ थियो ।

ओलीको बढी चित्त दुखाइ चाहिँ कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्पर्क गर्न नदिएकोमा रहेछ । देउवासँग कुरा गर्न पाएको भए त्यस्तो विध्वंश नै मच्चिने थिएन भन्ने उनको तर्क छ । सेनाको भूमिकामाथि अनेकन प्रश्न उठाएका एमाले अध्यक्षले भूराजनीतिक विषय पनि अलिकति कोट्याए । चीन भ्रमणका क्रममा ओली सांघाई को–अपरेशन फोरमको बैठक र सैन्य परेडमा सहभागी भएका थिए । भारत र पश्चिमा शक्तिले त्यसलाई मन नपराएको अनि चीनले पनि नेपालको भूराजनीतिक संवेदनशीलता बुझ्न नसकेको ओलीको विश्लेषण रह्यो ।

‘सिधै नभने पनि सैन्य परेड र सांघाई को–अपरेशनमा नबोलाएको भए हुन्थ्यो भन्ने आशय बुझिन्थ्यो’, ओलीको भनाइ स्रोतले खुलायो । छिमेकीहरूले समयमै डिप्लोमेटिक इन्फर्मेसन नदिएको भन्दै उनले असन्तुष्टिसमेत पोखेका थिए । कांग्रेससँगको सहकार्य र प्रतिनिधिसभा पुनस्र्थापनाबारे पनि ओलीको कडै धारणा आयो । ‘कांग्रेस डेमोक्रेटिक पार्टी हो, हामी पनि डेमोक्रेसीमा विश्वास गर्छौं । कांग्रेससँग सम्बन्ध जहिले पनि सुमधुर हुन्छ’, सिंगापुरमा उपचाररत देउवासँग नियमित कुराकानी भैरहेको खुलाउँदै भने, ‘उहाँ उपचार सकेर आएपछि कसरी अगाडि बढ्ने छलफल गर्छौँ । संसद पुनस्र्थापनाको विकल्प छैन । कांग्रेस अन्ततः प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा आइपुग्छ । त्यसमा कुनै द्विविधा छैन।’

संसद पुनःस्थापना हुनेमा आत्मविश्वासी देखिएका उनले त्यसको केही संकेत पनि गरेका थिए । न्यायाधीशहरूले परिस्थितिअनुकूल व्याख्या गर्छन् भन्ने उनको बुझाइ थियो । ‘हामी बलियो भएर निर्वाचनपछि पनि आउँदै छौँ भन्ने भएपछि नगरेर हुन्छ ?’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले सुनायो । काठमाडौँका मेयर बालेनप्रति कडा आक्रोश पोखेका ओली प्रधानमन्त्री सुशीला कार्कीको विषयमा भने धेरै उग्र सुनिएनन् । ‘उनी एक्टिभिष्ट हुन्, यस्ता एक्टिभिष्टहरूबाट देश बन्दैन’, संक्षिप्त टिप्पणी थियो ।

एमालेको आन्तरिक राजनीतिबारे पनि ओलीले सामान्य चर्चा गरेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई गुटबन्दी गरेको आरोप लगाउँदै पूर्वराष्ट्रपति विद्या भण्डारीलाई उनैले उचालेको दावी गरे ।  कान्तिपुरको टोली ओलीको अन्तर्वार्ता लिन दुई दिन लगातार गुन्डु गएको थियो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, ठूला दलका शीर्ष नेताहरूको अन्तर्वार्ता लिनुअघि भेटेर अनौपचारिक धारणा बुझ्ने चलनअनुसार अघिल्लो दिन ४ घण्टा संवाद गरेको टोलीले भोलिपल्ट २ घण्टा बितायो । बताइएअनुसार पहिलो दिन नै ओलीले समय खाइदिएपछि दुई दिन लागेको हो ।

अघिल्लो दिन राधिका शाक्यले बिहान ११ बजे खाना खान बोलाएकोमा ओलीले गफ गर्दागर्दै दिउँसो २ बजे बजाइदिएका थिए । बोल्न पाए भने एकल साँझ चलाइरहने उनको स्वभाव नै हो ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button