चीनमा अध्ययनरत १२ जना नेपाली विद्यार्थीलाई राजदूतस्तरीय बीआरआई छात्रवृत्ति

नेपाली विद्यार्थीका लागि चीनको ओभरसिज चाइनिज च्यारिटी फाउन्डेसनले प्रदान गर्ने राजदूतस्तरीय बेल्ट एन्ड रोड (बीआरआई) छात्रवृत्ति १२ जना नेपाली विद्यार्थीले प्राप्त गरेका छन् । बेइजिङस्थित नेपाली दूतावासको सहकार्यमा फाउन्डेसनले छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो सिलसिला गत वर्षदेखि सुरू भएको हो ।

चीनमै अध्ययन गरिरहेका नेपाली विद्यार्थीमध्ये शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धि, नेपाल चीन सांस्कृतिक सम्बन्धमा पुर्‍याएको योगदान तथा नेपालले आफ्नो तर्फबाट समावेशी छनोट गरेर १२ जनालाई यो छात्रवृत्ति प्रदान गरिएको कार्यवाहक राजदूत रोशन खनालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘चीनमा उच्च शिक्षा लिइरहेका नेपाली विद्यार्थीमध्ये उनीहरुले गरेको योगदानको मूल्यांकन गरेर यो पुरस्कार प्रदान गरिएको हो ।’

खनालका अनुसार आयोजक समक्ष चीनका कृषि संस्थानहरूमा नेपालीका लागि केही कृषि तालिमसम्बन्धी कोर्सको व्यवस्था गर्न सुझाव पनि दिइएको छ।

छात्रवृत्ति प्राप्तिका लागि गत अक्टोबर १३ देखि २८ सम्म आवेदन माग गरिएको थियो। सो बमोजिम कूल १४४ जनाले आवेदन दिएका थिए । शैक्षिक विधामा प्राप्त गरेको उपलब्धि, छात्रवृत्तिको स्थिति, लिङ्ग, वर्ग, सीमान्त समुदाय, नैतिक चरित्र, सामाजिक उत्तरदायित्व लगायतका विभिन्न शीर्षकमा आधारित रहेर आयोजक र नेपाली राजदूतावासले बिजेता छनोट गरेका कान्तिपुर अनलाइनले जनाएको छ।
बिहीबार दूतावासमै आयोजित एक समारोहका बीच फाउण्डेसनका प्रतिनिधिले नेपाली विद्यार्थीलाई प्रोत्साहन गर्न, नेपाल चीनजनस्तरीय सम्बन्ध प्रगाढ बनाउन यस्तो खालको तरिका अपनाइएको बताए । ती प्रतिनिधिले भने, ‘चीनमा रहेर अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्त क्षेत्रमा थप प्रगतिका लागि हौसला दिन छात्रवृत्ति प्रदान गरिएको हो।’

विजेतामध्ये मधेश प्रदेशका चन्दनकुमार साहले १० हजार चिनियाँ युआन प्राप्त गरेका छन् भने अन्य ११ जनाले ५ हजार चिनियाँ युआन पाए । बिजेतामध्ये २ जना विद्यावारिधि गर्दैछन् भने ३ जना स्नातकोत्तर र ७ जना स्नातक तहमा अध्ययरत छन् ।

पुरस्कृत भएका विद्यार्थीमा विभुष श्रेष्ठ, मन्दीपमणि सुरज, प्रबीण विक्रम केसी, नीरग बस्नेत, कोसिस शर्मा, अनिश तिवारी, अक्षरा रेग्मी, सिन्धु पण्डित, समता बज्राचार्य, सरिता सापकोटा र संकेत यादव छन् ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button