बुद्ध जन्मस्थलमा पर्यटकलाई आकर्षित गरिराख्न लुम्बिनीको वातावरण बुद्धमय तुल्याउनुपर्नेमा सरोकारवालाको जोड

बुद्ध जन्मस्थलमा पर्यटक आकर्षित गरेर उनीहरुको बसाइ लम्ब्याउन लुम्बिनीको वातावरण बुद्धमय तुल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विश्वभरिका मानिसको आस्थाको केन्द्र भएर पनि लुम्बिनी भ्रमणमा आउने पर्यटक लामो समय यहाँ टिक्दैनन् । पर्यटक नटिकेपछि त्यसको असर लुम्बिनीको पर्यटन व्यवसायमा परेको उनीहरुको भनाइ छ ।
बुद्ध जन्मस्थलमा रहेको मायादेवी मन्दिर परिसर नपुग्दासम्म लुम्बिनी पुगे/नपुगेको पर्यटकलाई द्विविधा हुने वातावरण परिवर्तन गर्न जरुरी रहेको उनीहरुले बताए । लुम्बिनी परिसरमा मात्र नभएर आसपास पनि हरियाली, बुद्ध मूर्ति, शान्त संगीत, बगैंचा निर्माण गरेर बुद्धमय वातावरण तयार गरेर पर्यटक लोभ्याउन सकिन्छ । तर, अहिले लुम्बिनी प्रवेशद्धारमै मांसाहारी प्रचारका कारण आधुनिक सहर प्रवेश गरेजस्तो लाग्ने उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्माले बताउनुभयो। ‘लुम्बिनीमा कसरी पर्यटन आउँछन्, उनीहरुलाई लामो अवधि बस्न कस्तो वातावरण चाहिन्छ, बहस जरुरी छ,’ लुम्बिनी होटल संघले गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘रुपन्देही छिर्नेबित्तिकै शान्ति महसुस हुनुपर्यो ।’
अहिले लुम्बिनी विकास कोष परिसरभन्दा बाहिरका पर्सा, पडरिया, महिलावार लगायत बजारमा ठूलाठूला होडिङ बोर्डमा मांसाहारी खानाको प्रचार गरिएको छ । साकाहारी खाना कमै उपलब्ध हुन्छन् । कोष परिसरभित्रको लुम्बिनी गाउँ क्षेत्रमा अहिले वनभोज खानेको भिडले हो–हल्ला हुन्छ ।
कान्तिपुर अनलाइनका अनुसार लुम्बिनी वरिपरि बुद्ध मूर्ति, हरियाली र शान्त वातावरणको कमी छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले बुद्ध जन्मस्थललाई लिएर व्यक्तिपिच्छे फरक व्याख्या भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो। ‘लुम्बिनीका बासिन्दा, पर्यटन व्यवसायी र पथ प्रदर्शकले लुम्बिनीबारे एउटै जानकारी दिनुपर्यो,’ उहाँले भन्नुभयो, ‘बोलीपिच्छे लुम्बिनीका बारेमा गरिने अनेक व्याख्याले पनि समस्या भइरहेको छ ।’
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आफ्नो संस्थाले २०६३ सालदेखि लुम्बिनीको प्रवर्द्धन गरिरहेको बताउनुभयो। लुम्बिनीमा बौद्ध विश्वविद्यालय भएर पनि धेरै विद्यार्थी आकर्षित गर्न नसकिरहेकामा उहाँले चिन्ता जनाउनुभयो । ‘बौद्ध धर्म अनुयायीका सन्तानलाई यहाँ पढ्न आह्वान गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसबाट यहाँको पर्यटन प्रवर्द्धन हुन्छ ।’
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटकलाई कसरी सहजीकरण गर्ने र उनीहरुको बसाइ लम्ब्याउन के गर्न सकिन्छ भन्नेबारे नगरपालिका पर्यटन व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताउनुयभो। ‘भारतीय पर्यटक देख्नेबित्तिकै राज्यका सुरक्षा निकायको दृष्टिकोण फेरिन्छ,’ उहाँले भन्नुभयो ‘लुम्बिनीमा धेरै आउने भारतीय नै हुन् । उनीहरुलाई अध्यात्म वातावरण प्रदान गर्न सहकार्यका लागि तयार छौं ।’
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्माले नेपालको मात्र नभएर विश्वकै धरोहरको रुपमा रहेको लुम्बिनी प्रवर्धनका कार्यक्रम तयार गर्न लागेको बताउनुभयो।
CGTN





