गुहार माग्दै काँग्रेस नेताहरु शीतल निवासमा

नेपाली कांग्रेसका संस्थापन–इतर नेताहरू विशेष महाधिवेशनका लागि नेतृत्वलाई सम्झाइदिन आग्रह गर्दै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन् । भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई काँग्रेसको चासो–चिन्ता रहेको तर पदीय मर्यादाका कारण खुला टिप्पणी गर्न नसकिने जवाफ दिनुभएको बताइन्छ ।

राष्ट्रपति पौडेललाई भेट्न पुगेको टोलीमा सहभागी एक युवा नेताका अनुसार गुरूराज घिमिरे,अम्मर पुन,सुवास भट्टराई,देवराज चालिसे,नरेन्द्र केरुङ, रमेश धमला,जनक गिरी,बलदेव तिम्सिना थिए । ‘हामीले राष्ट्रपतिज्यूलाई कांग्रेसको मात्र नभई सबै दल र मुलुककै अभिभावक भएकाले वर्तमान बेथिती र भद्रगोल अवस्थालाई एउटा थिति र पद्धतिमा लैजान नेतृत्वलाई सम्झाइदिन आग्रह गर्यौँ,’ भेटमा सहभागी एक नेताले बताए ।

‘काँग्रेसको विधि–विधानको विषय पनि राख्यौँ । विशेष महाधिवेशनका लागि नेतृत्वलाई सम्झाइदिन अनुरोध गर्ने उद्देश्यले नै हामी त्यहाँ पुगेका हौँ,’ ती नेताले भने । जवाफमा राष्ट्रपति पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेको उल्लेख गर्दै पदीय मर्यादाले पार्टीको आन्तरिक विषयमा खुलेर बोल्न नमिल्ने उल्लेख गर्नुभयो ।

झण्डै सवा घण्टासम्म भएको भेटमा राष्ट्रपतिले भन्नुभयो, ‘मैले गर्नसक्ने कुरा गरेको छु र गर्छु। मिलेर जानुस्। जे गर्दा राम्रो हुन्छ त्यही गर्नुहोस् ।’ 

नियमित वा विशेष जस्तो महाधिवेशन भए पनि मिलेर अघि बढ्न उहाँको सुझाव छ । झण्डै सवा घण्टासम्म भएको भेटमा राष्ट्रपतिले भन्नुभयो, ‘मैले गर्नसक्ने कुरा गरेको छु र गर्छु। मिलेर जानुस्। जे गर्दा राम्रो हुन्छ त्यही गर्नुहोस् ।’ भेटमा आगाम निर्वाचनबारे पनि जिज्ञासा राखिएको बताइन्छ । चुनावको वातावरण कस्तो छ ? भन्ने प्रश्नमा राष्ट्रपति पौडेलले समय थोरै भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

आजै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा नजाने बताएका छन् । थापाले पार्टी विधानअनुसार समयभित्रै विशेष महाधिवेशन गरेर त्यहीँबाट सभापतिको निर्वाचन हुने उल्लेख गर्दै नयाँ नीति र नेतृत्वसहित नयाँ हस्ताक्षरसँग चुनावमा जाने उल्लेख गरे । सामाजिक सञ्जालमार्फत थापाले विशेष महाधिवेशनको विकल्प नरहेको जनाउँदै नेता तथा कार्यकर्तालाई अलमलमा नपर्न आग्रह गरेका छन्।

‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ, पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने हो कि? मैले भने— होइन। फेरि सोध्नुभयो— कसरी? मैले भनें— प्रष्ट छ, विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापति चयन हुन्छ,’ थापाले लेखेका छन् ।

नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने उल्लेख गर्दै उनी लेख्छन्, ‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो— हामीले निर्वाचनअघि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button