सुदनसँग जेनजीसमेत हैरान

गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्ने विषयलाई लिएर  जेनजी समूहहरूबीच कलह शुरू भएको छ । ‘हामी नेपाल’ (एनजिओ) को संस्थापक समेत रहेका जेनजी काउन्सिलका संयोजक सुदन गुरुङले एकलौटी व्यवहार देखाउँदै गएको भन्दै विवाद चर्किएको हो ।

सुदनले पछिल्लो समय गृहमन्त्री अर्याललाई ‘निरिह मन्त्री’को संज्ञा  दिँदै राजीनामा मागिरहँदा अन्य जेनजी समूह भने उनको रवैयासँग सन्तुष्ट नरहेकाे बताइएकाे छ । १२ वटा समूह मिलेर बनेको जेनजी मुभमेन्ट अलायन्सका अगुवाले सुदनलाई भेटेर ‘अहिले गृहमन्त्रीको राजीनामा माग्ने होइन, दबाबपूर्ण सहयोग दिने हो’ भन्दै सम्झाएको बुझिएको छ । भेटमा उनले ‘हुन्छ’ भने पनि फेसबुकमा भने लगातार गृहमन्त्रीको राजीनामा माग्दै रिस पोखिरहेको देखिन्छ । ‘हामीले प्रत्येक भेटमा सुदन दाइलाई जथाभावी नबोल्नुस् भनेर सम्झाइरहेका छौँ,हुन्छ भन्नुहुन्छ,तर फेसबुकमा फेरि त्यस्तै लेख्नुहुन्छ’, एक जेनजी अगुवाले भने ।

फरक फरक जेनजी समूहबीच कित्ताकाट हुँदा राजनीतिक दललाई फाइदा पुग्ने सम्भावनाबारे पनि अलायन्सले सुदनलाई सचेत गराएको छ । तर सुदनले पागलपन नछाडेको अन्य जेनजी समूहको निष्कर्ष छ । उनै जेनजी अगुवाले थपे,‘कहीं कतै कार्यक्रम वा प्रदर्शन गर्नुपरे सबै समूहले छलफल गरेर संयुक्त रुपमा गरौँ भनिरहेका छौँ,तर सुदन दाइले पटक्कै मान्नुभएको छैन, जेनजीहरु एक ठाउँमा आउन नसक्नुको कारण नै उहाँ हो कि जस्तो लाग्दैछ ।’

हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन जाँदा पनि सुदनको समूह सुटुक्कै सिंहदरबार पुगेको थियो । यद्यपि,प्रधानमन्त्री कार्कीले समय नदिएपछि उनीहरु होहल्ला गर्दै फर्किएका थिए । मुलुकको विद्यमान परिस्थितिमा जुनसुकै कदम पनि सोचविचार गरेर मात्र चाल्नुपर्नेमा सुदनले ‘मै हुँ’ भन्दै हिँडेपछि जेनजी समूहहरूबीच नै अविश्वासकाे वातावरण बनेकाे गुनासो छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button