चीनमा निर्यात गर्ने उद्देश्यले सिन्धुलीमा मासु प्रशोधन कारखाना निर्माण सुरू

सिन्धुलीको मरिण गाउँपालिकामा मङ्सिर अन्तिम सातादेखि मासु प्रशोधन कारखानाको निर्माण सुरु हुने भएको छ । नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले कारखाना निर्माण गर्न लागिएको हो । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले डिजाइनको काम सकेर कारखाना निर्माणको चरणमा पुगेको जनाएको छ ।

२७ अर्ब ६४ करोड ८४ लाख ६० हजार लागतमा कारखाना निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । जसमध्ये २० अर्ब रुपियाँ कारखाना निर्माण र प्लान्ट स्थापना, सात अर्ब रुपियाँ पशुपालन, कामदार बस्ने आवास र घाँस खेतीमा खर्च हुने कम्पनीले जानकारी दिएको छ ।

कुल लगानीमध्ये २० अर्ब रुपियाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट विदेशी लगानी भित्र्याउन लागिएको छ । उद्योग विभागले गत साउनमा वैदेशिक लगानी भित्र्याउन स्वीकृति प्रदान गरेको गोरखापत्र अनलाइनमा खबर छ।

हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष डा. नवीन शर्माले जग्गाको डिजाइन गर्ने काम सकिएकाले मङ्सिर अन्तिम सातादेखि फ्याक्ट्री निर्माणको काम सुरु गरिने जानकारी दिनुभयो ।

कारखाना निर्माणका लागि ५० करोड रुपियाँ विदेशी लगानी भित्रिसकेको र बाँकी आउने क्रममा रहेको उहाँले बताउनुभयो । “अहिले २० अर्ब रुपियाँ चीनबाट भित्र्याउने प्रक्रियामा छौँ, बाँकी रहेको सात अर्ब रुपियाँमध्ये केही प्रतिशत चिनियाँ साझेदारबाट थप र बाँकी नेपाली साझेदार कम्पनीले जुटाउने तयारी भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार खाना, आवासगृह, होल्डिङ सेन्टर, प्रशोधनगृह निर्माण गर्न आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्ने प्रक्रियालाई अघि बढाइएको छ ।

कारखाना निर्माणपछि मासु सिन्धुलीबाट काठमाडौँ हुँदै केरुङ नाकामार्फत चीनमा निर्यात हुने छ । ५५ बिघा क्षेत्रफलमा निर्माण हुन लागेको कारखाना सञ्चालन हुँदा पाँच हजार १५६ जनाले रोजगारी पाउने विवरण उद्योग विभागलाई कम्पनीले उपलब्ध गराएको छ । कारखानाबाट दैनिक पाँच हजार वटा राँगा तथा भैँसीबाट पाँच सय मेट्रिक टनका मासु निर्यात गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अनुसार वार्षिक दुई लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट र ५५ हजार मेट्रिक टन सहउत्पादन (हाड, छाला, टाउको, विभिन्न प्रकारका आन्तरिक अङ्गलगायत) गर्ने लक्ष्य राखिएको छ । किसानलाई व्यावसायिक र रोगमुक्त भैँसीपालनमा आकर्षित गर्न देशभर भैँसीपालक समूह गठन गरिएको छ । यस्तै बर्दियाको गुलरियामा घाँस उत्पादन गर्ने प्रक्रियासमेत सुरु भइसकेको कम्पनीले जनाएको छ ।

साउनमा चिनियाँ साझेदारीमा सिन्धुलीमा निर्माण हुने गरी भैँसीको मासु प्रशोधन उद्योग (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि २० अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि स्वीकृत भइसकेको छ ।

कारखाना निर्माण दुई सिफ्टमा गरेर आठ महिनाभित्रमा सक्ने योजना छ । असोजमा ढुङ्गा गिट्टी, बालुवा निकाल्न नपाएकाले निर्माणको काम ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले एक वर्षभित्रमा मासु निर्यात गर्ने लक्ष्य राखेको छ ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button