ओलीको फोन उठाउन छाडे कृष्णगोपालले

‘केपी ओली भनेको फुटबलको पेले हो पेले, कोही माइकालाल छ केपी ओलीलाई हटाउने ?’ कुनै बेला यस्तो भाषण गर्थे एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ । उनैले आजकल फोनसमेत उठाउन छाडेको गुनासो गर्छन् एमाले अध्यक्ष ।कात्तिक २७ गते बिहीबार उपत्यका विशेष कमिटीका पदाधिकारी र इञ्चार्जहरू गुण्डु गएका थिए ।

विशेष कमिटी इञ्चार्ज तथा पोलिटब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्य तथा जिल्ला विशेष इञ्चार्ज विना श्रेष्ठ, केन्द्रीय सदस्य बालिका गिरी, सुदर्शन शिवाकोटी, मोहन पराजुली, तुल्सी घिमिरे, उपत्यका कमिटी अध्यक्ष प्रेम पराजुली र सचिव मिलन धरेल साढे पाँच बजे नै गुण्डु पुगेकोमा एक घण्टा कुरेपछि ओलीले भेटे । महाधिवेशनमा जाने प्रतिनिधिको सवाल उठाउन टोली गएको थियो । सहभागी एक सदस्यका अनुसार सुजिताले प्रतिनिधिको संख्या घटेको विषयलाई अध्यक्ष कमरेडले संबोधन गर्दिनुहुन्छ भनेर आएको बताएकी थिइन् ।

सुजिताले कुरा राख्दै गर्दा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक टुप्लुक्क  आइपुगे । टोलीका एक सदस्य भन्छन्, ‘ओली कमरेडको हाउभाउ हेर्दा रमेश समय लिएरभन्दा पनि एक्कासी केही महत्वपूर्ण कुरा भएर आएजस्तो लाग्यो ।’रमेशपछि उपत्यकाको टोलीलाई एकछिन भन्दै कुराएर अर्को कोठामा ओली छिरे । ४५ मीनेट कुरा गरेर साढे सात बजेतिर आए । र, शुरु भयो महाधिवेशनको विषय । कृष्णगोपाल पत्नी बिना श्रेष्ठ र युवराज कार्कीपत्नी बालिका गिरीलाई देखेपछि ओली दुवै जना विद्या भण्डारीलाई उचाल्नतिर लागेको गुनासो गरे । केजी, केजी भन्दै कृष्णगोपालप्रति निकै गुनासो पोखे ।

‘मसँग रिसाउनुभएको केजी कमरेड कता हुनुहुन्छ ?’ बिनालाई सोधे, ‘भेट्नै नहुने, सम्पर्कमा आउनै नहुने त केही थिएन ।’ ओलीको गुनासो सुनेपछि विनाले भनिन्, ‘त्यस्तो भएजस्तो लाग्दैन, कतै बिजी भएर होला ।’ ओली रोकिएनन् । तारन्तार बोलिरहे, ‘तपाईंहरूलाई विश्वास लाग्दैन होला, मेरो फोन नै उठाउनु हुन्न ।’ त्यहीँबाट ह्यान्ड्स फ्रिमा दुईपटक कल गरे तर कृष्ण गोपालले उठाएनन् । ओलीलाई सान्त्वना दिँदै बिनाले भनिन्, ‘कतै बाटोमा भएर होला, कल ब्याक गर्नु हुन्छ ।’ साढे आठसम्म गुण्डुमा यो टोली हुँदा पनि कलब्याक आएन । टोली निस्कने बेलामा ओलीले फेरि भने, ‘आयो त कलब्याक ? देख्नु भयो नि साथीहरूको ताल !’

उपत्यका विशेष र सम्पर्क समन्वयबाट चुनिने महाधिवेशन प्रतिनिधिहरूमा युवा र दलितको कोटा तोकिएको छैन । यो विषय गम्भीर भएकाले संबोधन गर्न उपत्यका अध्यक्ष प्रेम पराजुलीले आग्रह गरेका थिए । आगामी महाधिवेशनबाट चुनिने नेतृत्वका बारेमासमेत ओलीले धारावाहिक धारणा राखेको नेताहरूले बताएका छन् । ‘विदेशीको इशारामा कोही साथी बुरुक्क, बुरुक्क गर्नुभयो ।’ ओलीले भने, ‘साथीहरूलाई विदेश नै जान मन लागेको छ भने महाधिवेशन प्रक्रियाबाट पठाउने हो ।’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण बिष्टलगायतलाई एमालेबाट बाहिर राख्ने प्रसंगलाई भाका मिलाएर यसरी प्रस्तुत गरिएको हुनुपर्छ ।

गुण्डुमा ओलीको धारावाहिक प्रवचन सुनेका नेता भन्छन्, ‘नेताहरूलाई महाधिवेशनबाट हराएर पार्टीबाहिर पठाउने विषयलाई विदेश जाने रहर भनेर अध्यक्ष ओली बोल्नुभयो ।’ उनले भने, ‘पार्टी ओलीको एकल कब्जामा जाने भएछ भन्ने बुझेर हामी निस्कियौं ।’ महाधिवेशन प्रतिनिधिको सवाल संबोधन गर्न ओली तयार भए पनि उपमहासचिव विष्णु रिमालका कारण सम्भव नरहेको सन्देश यो टोलीले गुण्डुबाट बुझेर फर्किएको छ । प्रतिनिधिको मापदण्ड समेटिएको अपानि जारी हुनासाथ गुनासो गर्न गुण्डु गएको सम्पर्क समन्वयको टोलीलाई विष्णु रिमालले झपारेर पठाएका थिए । ‘ओली कमरेडसँगको छलफलमा विष्णु रिमाल भएको भए, सम्पर्कका कमरेडहरूलाई जस्तै निराश बनाएर पठाउनुहुन्थ्यो होला’, ती नेताले भने, ‘निराश त भइएन तर माग संबोधन होलाजस्तो लागेन, एक एक जना प्रतिनिधिका बारेमा हिसावकिताव भइरहेको रहेछ, किन डराएको होला यसरी !’

उनका अनुसार उपत्यका विशेषको टोली पुग्नुभन्दा पहिला उपाध्यक्ष विष्णु पौडेलले ओलीसँग एक्लै तीन घण्टा छलफल गरेका थिए । युवराज कार्की विद्या भण्डारीतिर लागेको विषयमा बालिका गिरीसँग केहीबेर ओलीले एक्लै कुरा गरेको समेत उनले जानकारी दिए ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button