ड्रागनको ढोकामै न्युजिल्यान्डको जहाजको यात्राकाे संकेत

# संकेत किराँती

HMNZS Aotearoa नामक न्युजिल्यान्ड नौसैनिक आपूर्ति जहाजले ताइवान जलडमरूमध्य पार गर्दा, त्यो सामान्य समुद्री मार्गजस्तै देखिन सक्थ्यो। तर चीनको रक्षा मन्त्रालयबाट आएको तीव्र र सार्वजनिक प्रतिक्रिया धेरै गहिरो अर्थ बोकेको छ। चिनियाँ सेनाले गरेको सूक्ष्म निगरानी र प्रवक्ता जियाङ बिनद्वारा जारी गरिएको आधिकारिक चेतावनीले एउटा नयाँ यथार्थलाई उजागर गर्छ, ताइवान जलडमरूमध्य अब केवल ठूला शक्तिहरूबीचको तनाव क्षेत्र मात्र रहेन। यो बिस्तारै विश्वभरका मध्यम शक्तिहरूका कदमसमेत कडाइका साथ मूल्यांकन हुने अन्तर्राष्ट्रिय रंगमञ्च बन्दैछ, जसले ताइवानसम्बन्धी भू–राजनीति नयाँ दिशामा मोडिएको संकेत गर्छ। यो घटना बेजिङले प्रयोग गर्दै आएको “काउन्टर नर्मलाइजेसनलाई सामान्य बनाउने” रणनीतिको सानो झल्को हो।

चीनका लागि ताइवान जलडमरूमध्य केवल समुद्री क्षेत्र होइन; यो यसको सार्वभौमिकता दाबीको अभिन्न हिस्सा हो। बेजिङको दशकौँदेखि रहेको स्थायी धारणा अनुसार ताइवान चीनकै अविभाज्य भाग हो, र जलडमरूमध्य “आन्तरिक पानी” हो। त्यसैले विदेशी सैन्य जहाजहरूको आवत–जावत चीनले निस्कपट समुद्री गुडान (innocent passage) जस्तो ठान्दैन; यसलाई आफ्नो मूल राष्ट्रिय हितप्रति प्रत्यक्ष चुनौतीका रूपमा हेर्छ। अमेरिकाले नियमित रूपमा गर्ने Freedom of Navigation Operations (FONOPs) यिनै दाबीहरूलाई चुनौती दिनका लागि हुने गर्छन्, किनकि वाशिङ्टनका अनुसार यो समुद्री क्षेत्र अन्तर्राष्ट्रिय जलमार्ग हो। न्युजोेल्याण्डको यात्राप्रति चीनले सार्वजनिक रूपमा आलोचना गर्नु र यसलाई “ताइवान स्वतन्त्रता समर्थकहरूलाई गलत सन्देश पठाउने काम” भन्नु, परम्परागत रूपमै निकट रहेको एक देशलाई चीनले आफ्नै कडा कूटनीतिक ढाँचामा राख्न थालेको संकेत हो। यसले सामान्य यात्रामाथि पनि “उत्तेजना” को रंग लगाइदिन्छ, जसले कुनै पनि विदेशी सैन्य उपस्थितिलाई उत्तेजक गतिविधि जस्तै देखाउने वातावरण बनाउँछ।

यस घटनालाई अझ विश्लेषणात्मक रूपमा रोचक बनाउने पक्ष भनेकै न्युजिल्यान्डको संलग्नता हो। अमेरिका वा बेलायत जस्तो क्षेत्रीय रूपमा सक्रिय शक्ति नभएको, र चीनसँग सुरक्षा होइन, मुख्यत: आर्थिक सम्बन्धले नजिकिएको देशलाई चीनले यसरी सम्बोधन गर्नु सामान्य होइन। न्युजोेल्याण्ड Five Eyes सञ्जालको सदस्य भए पनि, चीनसँग उसले प्रायः सन्तुलित र व्यवहारिक सम्बन्ध राख्दै आएको छ। त्यसैले HMNZS Aotearoa को जलडमरूमध्य यात्रा प्रतीकमूलक रूपमा धेरै गहिरो छ। बेजिङको दृष्टिमा, यो अमेरिकाले ताइवान मुद्दालाई “अन्तर्राष्ट्रियकरण” गर्न खोजेको रणनीतिलाई साना–मझौला राष्ट्रमा समेत फैलिन थालेको “संक्रामक प्रवृत्ति” को सुरुआत हो। यदि न्युजोेल्याण्ड जस्तो व्यवहारिक देशले पनि यस्तो मार्ग रोज्न सक्छ भने, अन्य समान राष्ट्रहरूले पनि जलडमरूमध्यको अन्तर्राष्ट्रिय स्थिति पुष्टि गर्न तयार भइरहेका छन् भन्ने संकेत चीनले पढेको छ। त्यसैले यो चेतावनी केवल न्युजिल्यान्डलाई होइन, यस्तै कदम चाल्न विचार गरिरहेका अन्य राष्ट्रहरूलाई पनि हो: “यस्तो यात्रा चीनले घेराबन्दी रणनीतिमा सहभागीको रूपमा बुझ्नेछ।”

चीनको पूर्वी थिएटर कमान्डले “यस जहाजलाई समुद्री तथा हवाई शक्तिबाट निरन्तर अनुगमन गरियो” भन्ने वक्तव्य नियमित प्रक्रियाजस्तै लागे पनि, यसको सार्वजनिक घोषणा निकै उद्देश्यपूर्ण हो। भित्री (घरेलु) सन्देशका हिसाबले यसले चीन जनमुक्ति सेनाको सतर्कता र बलियो क्षमतालाई देखाउँछ, जसले राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कथालाई बल दिन्छ। अन्तर्राष्ट्रिय सन्देशका हिसाबले, चीनसँग जलडमरूमध्यमा भएका हरेक गतिविधि ट्र्याक गर्न सक्ने सैन्य क्षमता र तयारी छ भन्ने संकेत दिन्छ अर्थात एक प्रकारको मनोवैज्ञानिक वा सामरिक निरोध (deterrence)।

HMNZS Aotearoa को यात्रा र चीनको कडा प्रतिक्रिया कुनै एकल कूटनीतिक वाद–विवाद मात्र होइन। यो तीव्र गतिमा परिवर्तन हुँदै गरेको अन्तर्राष्ट्रिय नर्मको लक्षण हो। अमेरिका तथा उसका साझेदार राष्ट्रहरू समुद्री मार्गको स्वतन्त्रता समेटिएको नियम–आधारित अन्तर्राष्ट्रिय प्रणालीलाई मजबुत पार्न चाहन्छन्, जबकि चीन त्यही नियमलाई उल्ट्याउँदै नयाँ मानक स्थापित गर्न खोजिरहेको छ, जहाँ यस्ता यात्रालाई “अवैध” र “अस्थिरता फैलाउने” रूपमा चित्रित गरिन्छ। न्युजिल्यान्ड जस्ता साना–मझौला राष्ट्रहरूका लागि यो अत्यन्त कठिन सन्तुलन बन्न थालेको छ। एकातिर अमेरिका र अष्ट्रेलियाजस्ता परम्परागत सुरक्षा साझेदारहरूको अपेक्षा, अर्कोतिर चीनको विशाल आर्थिक र कूटनीतिक प्रभाव।

एक समय सामान्य पारवहन क्षेत्र रहेकै ताइवान जलडमरूमध्य आज विश्वव्यापी शक्ति प्रतिस्पर्धाको सूचक (barometer) बन्दैछ। अब यी पानी मार्गहरू केवल जहाजले पार गर्ने स्थान मात्र होइनन्; यहाँ राष्ट्र–सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू आमने-सामने ठोक्किँदै छन्। न्युजिल्यान्डको एउटा जहाजले छोडेको पानीको छालले अब अगाडिका वर्षहरूमा विश्वले सामना गर्नुपर्ने अशान्त धारहरू स्पष्ट देखाइदिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button