ओलीलाई थापाको सुझाव : ‘गतिला मान्छेको संगत गर्नुस्’

नेकपा (एमाले)का स्थायी समिति सदस्य कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गतिला मान्छेको संगत गर्न सुझाव दिएका छन् । च्यासलस्थित पार्टी मुख्यालयमै दुर्व्यवहार भोगेका उनले घटनालगत्तै ओलीलाई भेटेर गुण्डागर्दीमा रमाउने युवालाई धेरै नच्याप्न भनेका हुन् ।

हिजो मध्यान्ह केन्द्रीय कार्यालयमा आयोजित आसन्न राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा ओलीको सुरक्षार्थ खटिएका कृष्णसागर वलीसहितका युवाले थापामाथि धक्कामुक्की गरेका थिए । सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगको मुद्दामा पटक पटक पक्राउ परेका र सामुहिक बलात्कारको मुद्धामा सजाय भुक्तान समेत गरिसकेका वली ०७९ को निर्वाचनबेला नेपाली कांग्रेसमा प्रवेश गरे पनि पछिल्लो समय भने ओलीको सुरक्षा टिममा रहेको बताइन्छ । त्यसबारे स्पष्ट पार्दै नेता थापाले उक्त घटना नियतवश नघटाइएको भए पनि अध्यक्ष ओली अराजक युवाको घेराबन्दीबाट मुक्त हुनुपर्ने बताएका हुन् ।

‘अध्यक्ष कमरेड र म सँगसँगै कार्यालय छिर्दै थियौँ, तर उहाँसँग हिँड्ने युवाले मलाई समातेर रोके, सायद उनीहरुले मलाई चिनेनन्’, थापाले भनेका छन्, ‘कर्ण थापामाथि पार्टी कार्यालयमै हमला गर्ने चाहिँ अहिलेसम्म कोही छैन, यो कुरा चाहिँ स्पष्ट हो । बरु मैले अध्यक्ष कमरेडलाई भेटेर सुझाव दिएकाे छु।’

लोगो सार्वजनिक कार्यक्रम सकिएपछि ओलीलाई भेटेर सभ्य र अनुशासित युवालाई मात्र आफूसँग हिँडाउन सुझाव दिएको पनि थापाले बताए । ‘हिजोको घटना नियोजित त लाग्दैन, तर मैले अध्यक्ष कमरेडलाई भेटेर भनेको छु’, ओलीलाई दिएका सुझाव जानकारी गराउँदै थपेका छन्, ‘कम्तिमा संस्कारी, सभ्य, असल मान्छेमात्र हिँडाउनुस्, यो पार्टीको इज्जतको कुरा हो, तपाईमाथि उठ्ने प्रश्न समग्र पार्टीमाथि उठेको हुन्छ, वैचारिक मतभेद आफ्नो ठाउँमा छ, तर पार्टी अध्यक्ष महान होस्, बदनाम नहोस् भन्ने म पनि सुन्न चाहन्नँ ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button