चिसो बढेसँगै ग्यासको खपतमा वृद्धि

चिसो मौसम बढेसँगै नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको खपत क्रमशः बढ्न थालेको छ। एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले चिसोमा ग्यासको खपत बढेको जानकारी दिनुभयो। अन्य सिजनको तुलनामा जाडोयाममा पाँच देखि १० प्रतिशत ग्यासको खपत बढेको उहाँले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

तीन/चार वर्षअघि जाडोयाम ग्यासको खपत १५ देखि २० प्रतिशतसम्म बढ्ने गरेको श्रेष्ठले बताउनुभयो। “विगतका वर्ष जस्तो यस पटक धेरै नबढे पनि जाडोयामसँगै खपत केही बढेको छ।” औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालन हुन नसक्दा ग्यासको खपत विगतको जस्तो आकारमा भने नबढेको उहाँको भनाइ छ। चिसो मौसममा खाना पकाउनुका साथै ग्यास गिजरको प्रयोगले पनि यसको खपत बढ्ने गर्छ।
ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा विद्युतीय चुलोको प्रयोग बढ्दै छ तर बिजुली जाने समस्याले ग्यासको घरायसी खपत घटेको छैन। नेपाल आयल निगमका अनुसार बजारमा ग्यासको आयात नियमित आयात भइरहेकाले छ।

आपूर्ति नियमित भइरहेकाले पर्याप्त मात्रामा ग्यासको मौज्दात रहेको व्यवसायीको भनाइ छ। ७० प्रतिशत ग्यास घरायसी र ३० प्रतिशत औद्योगिक प्रयोजनमा खपत हुने गर्छ। होटेल तथा रेस्टुरेन्ट सुस्त गतिमा चल्दा ग्यासको खपत स्वाभाविक रूपमा नबढेको व्यवसायी बताउँछन्। निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा (साउन–कात्तिक) १८ अर्ब ८३ करोड ६१ लाख रुपियाँ बराबरको एक लाख ८२ हजार ११६ मेट्रिक टन ग्यास आयात भएको छ। सङ्घका अनुसार बजारमा एक करोड ५७ लाख थान सिलिन्डर रहेका छन्।

निगमले ग्यासको खरिद आदेश जारी गरेपछि ग्यास उद्योगीले इन्डियन आयल कर्पोरेसन्स (आइओसी) को बरौनी, दुर्गापुर, पारादीप, हल्दिया, मथुरा रिफाइनरीबाट ग्यास आयात गर्ने गर्छन्।

५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रमा गएर ग्यास ल्याएर नेपालमा वितरण गर्दै आएका छन्। ग्यासको ढुवानी भने भारतीय ट्रान्सपोर्टरमार्फत हुने गर्छ। निजी क्षेत्रसँग आठ हजार मेट्रिक टन ग्यासको भण्डारण क्षमता रहे पनि निगमसँग ग्यासको भण्डारण छैन। जसको कारणले नियमित रूपमा बजारमा ग्यासको आपूर्ति नभए अभाव हुने गर्छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button