नेपाल–चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन सम्पन्न

चीनको सिचाङ (तिब्बत) को परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ।

यही ८ देखि १२ मंसिरसम्म सिजाङ स्वायत्त क्षेत्रको ल्हासा शहरमा भएको उक्त सम्मेलनमा महिला अधिकार, कानुन र तिब्बती उपचार पद्धतिका साथै महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलाको विकासमा दुवै देशबीच सहकार्यका सम्बन्धमा छलफल भएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा दुवै देशका महिलाबीचको यो पहिलो औपचारिक महिला सम्मेलन भएको थियो । नेपाली महिला प्रतिनिधिमण्डलको नेतृत्व गरेकी आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले सम्मेलनले दुई देशबीचको मैत्रीपूर्ण सहकार्य अझ सुदृढ गर्दै महिला विकासका नयाँ मार्गहरू पहिचान गरेको बताउनुभयो।

समावेशी नेपाली प्रतिनिधिमण्डलमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार कालिका खड्का, उद्योग परिसङ्घ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, नेपाल ‘ल’ क्याम्पसका सहायक प्राध्यापक डा विष्णु बस्याल, नेपालस्थित चिनियाँ दूतावासका युवा सदस्यहरु सदस्य कुन्दन शर्मा (मेकालिनकल इञ्जिनियर) र श्रीया गिरी (मानसिक स्वास्थ्य विद्), जेनजी पुस्ताकी प्रतिनिधि ओजस्वी भट्टराई र आयोगका सदस्य रानाकी सहयोगी प्रतिक्षा घले गुरुङ सहभागिता रहेको शिलापत्र अनलाइनले जनाएको छ।

‘यो सम्मेलन नेपाल र चीनका महिलाबीचको संवाद मात्र होइन, दुई देशका महिलाका बहुआयामिक क्षेत्रमा सहकार्यको नयाँ सुरुवात भएको छ,’ आयोगकी सदस्य रानाले भन्नुभयो, ‘यसलाई निरन्तरता दिन सकियो भने दुवै देशका महिला र युवाको भविष्य उज्यालो हुनेछ ।’

नेपाली प्रतिनिधिमण्डलले तिब्बती उपचार पद्धतिको अवलोकनका क्रममा सहभागीहरूको स्वास्थ्य परीक्षणसमेत गरेको थियो। आयोगकी सदस्य रानाले स्वास्थ्य परीक्षणपछि भन्नुभयो, ‘तिब्बती उपचार पद्धति सस्तो, सरल र नेपाली आदिवासी उपचार विधिसँग अत्यन्त मिल्दोजुल्दो रहेछ, नेपालमै यसका तालिम उपलब्ध गराउने सम्भावना सकारात्मक रूपमा व्यक्त गरिएको छ, जुन असाध्यै राम्रो हो ।’

महिला अधिकारबाट आर्थिक विकाससम्म कार्यक्रममा नेपाल र चीनका महिलाबीच–महिला अधिकारका कानुनी विकास, सरकारी सेवा प्राप्तिमा महिलाको अवस्था, स्वास्थ्य, शिक्षा र उद्यमशीलताबारे विस्तृत रुपमा छलफल भएको थियो । महिलाको आर्थिक उत्पादन, सामाजिक पहुँच र नेतृत्व विकासका क्षेत्रमा दुवै देशका प्रतिनिधिबीच अनुभव र विचार साटासाट गरिएको थियो ।

सम्मेलनमा सिजेङ प्रान्तका वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले सम्मेलनलाई नेपाल–चीन मित्रताको ७० वर्षमा महिलामार्फत सुरु भएको पहिलो औपचारिक सहकार्य भएकाप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुवै देशका महिलाबीचको संवादले कूटनीतिक सम्बन्धमा नयाँ जीवन र ऊर्जा थप्नेछ भन्ने विश्वास लागेको छ ।’

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button