खजुरामा ब्रोदर्स फुटबल क्लबको पहल
युवाहरूले आफ्नै खर्चमा सडक बत्ती जडान, स्थानीय खुसी

खजुरा – ब्रोदर्स फुटबल क्लब (Brother’s F.C.) का युवाहरूले समाजका लागि उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। क्लबका सदस्यहरूले आफ्नै खर्च र आफ्नै मेहनतमा यसअघि सडक बत्ती नपुगेका स्थानहरूमा पुनः बत्ती जडान गरी उज्यालो फैलाएका छन्।
समाजसेवाको भावना र “युवाले चाहे परिवर्तन सम्भव छ” भन्ने सोचले प्रेरित भएर गरिएको यस कामले स्थानीयवासीबाट मुक्तकण्ठ प्रशंसा पाएको छ।
ब्रोदर्स फुटबल क्लब स्थापना भएको दिनदेखि नै स्थानीय युवालाई कुलतबाट टाढा राख्दै शिक्षा, खेलकुद र सामाजिक सेवातर्फ उन्मुख गराउँदै आएको छ। क्लबको नेतृत्वमा भएका विविध गतिविधिले युवाहरूलाई व्यस्त, अनुशासित र लक्ष्य–केन्द्रित बनाउन ठूलो योगदान पुर्याइरहेको स्थानीयवासी बताउँछन्।

स्थानीय खेलकुदमा पनि क्लबको फरक पहिचान छ। प्रतियोगितामा बाहिरबाट खेलाडी भाडामा ल्याउने परिपाटी तोड्दै, क्लबले हरेक वर्ष स्थानीय प्रतिभालाई नै प्राथमिकता दिँदै आएको छ। यसले युवामा आत्मविश्वास बढाउनुका साथै “हाम्रो क्षमता हाम्रो मैदानमै देखाऔँ” भन्ने सकारात्मक प्रतिस्पर्धालाई बलियो बनाएको छ।
यत्तिमै सीमित नभई क्लबले वरिष्ठ खेलाडीको भविष्य सुरक्षित गर्न उनीहरूलाई विभिन्न पेशा–व्यवसायमा संलग्न हुन सहयोग गरिरहेको छ। साथै नयाँ पुस्तालाई मौका दिन नयाँ टिम निर्माण गर्ने प्रक्रिया पनि समान रूपमा अघि बढाइएको छ।

सामाजिक उत्तरदायित्व, खेलकुद विकास र युवा सशक्तीकरणमा सक्रिय ब्रोदर्स फुटबल क्लब अहिले खजुरा–४ मा परिवर्तनको उज्यालो प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।





