गोवा र उत्तरप्रदेशमा आगलागीमा परी मृत्यु भएकाप्रति प्रचण्डको शोक व्यक्त

काठमाडौं, – गोवा र उत्तरप्रदेशमा भएको आगलागीमा सात नेपाली र अन्य भारतीय नागरिकको मृत्यु भएको दुःखद घटनामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गहिरो शोक व्यक्त गर्दै सरकारलाई छिटो कूटनीतिक कदम चाल्न आग्रह गरेका छन्।

संयोजक प्रचण्डले आफ्नो शोक सन्देशमा भने, “भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीलगायत भारतीय नागरिकको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु। कीर्तिशेष दाजुभाईहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

यस घटनाप्रति गम्भीरता देखाउँदै संयोजक प्रचण्डले नेपाल सरकारलाई तुरुन्तै कूटनीतिक पहल गर्न पनि आग्रह गरेका छन्। उनले आफ्नो सन्देशमा जोड दिँदै भने, “मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कूटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु।”

घटनाका पीडित परिवार र प्रभावितहरूलाई सहयोग पुर्याउन पार्टीका आन्तरिक निकायलाई पनि सक्रिय बनाउने निर्देशन दिँदै उनले भने, “साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु।”

गत साता भारतको गोवा राज्यको एक होटल र उत्तरप्रदेशको एक भवनमा भएको दुई पृथक आगलागी घटनामा सात नेपाली नागरिक र धेरै भारतीयहरूको मृत्यु भएको थियो। यी घटनाले विशेष गरी विदेशमा रोजगारी र जीवनयापन गर्न गएका नेपालीहरूको सुरक्षा चिन्ता पनि बढाएको छ।

यस घटनामा नेपाल सरकारले पनि गम्भीरता देखाइसकेको छ। विदेश मन्त्रालय र भारतस्थित नेपाली दूतावासहरूले पीडित परिवारसँग सम्पर्क राख्दै शव व्यवस्थापन र अन्य आवश्यक सहयोग प्रदान गर्ने प्रक्रिया अगाडि बढाइरहेको जानकारी छ। प्रवासी नेपालीहरूको हित रक्षा गर्ने मुद्दा पनि यसबाट पुनः चर्चामा आएको छ।

यसैबीच, विभिन्न सामाजिक संगठन र प्रवासी नेपाली समूहहरूले पनि घटनामा मृत्यु भएका नेपालीहरूको परिवारलाई आवश्यक सहयोग पुर्याउने घोषणा गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button