लुटिएका हतियारले निर्वाचनमा असर पार्ने चिन्ता, नागरिक समाजले दियो चेतावनी

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लुटिएका हतियारहरूले आगामी निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गदै सरकार र सम्बन्धित निकायलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।
मंगलबार राष्ट्रिय प्रेस क्लब, वानेश्वरमा समाजले ‘लुटिएका हतियारले आसन्न निर्वाचनमा पार्ने असर’ ब्यानरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष फणीन्द्र नेपाल, उपाध्यक्ष रणबहादुर चन्द, महासचिव प्रवीण नेपाल र कोषाध्यक्ष सञ्जयकुमार झा उपस्थित थिए।
संस्थाका नेताहरूले देशका विभिन्न स्थानमा भएका हतियार लुटपाट घटनाको सन्दर्भमा आगामी निर्वाचनमा यसले सुरक्षा स्थिति, मतदाता मनोविज्ञान र निर्वाचन प्रक्रियामा गम्भीर असर पार्न सक्ने बताए।
उनीहरूले हतियार लुटपाट रोक्न कानून व्यवस्था निकायलाई कडा कदम चाल्न, लुटिएका हतियार फिर्ता गर्न प्रभावकारी उपाय खोज्न र निर्वाचनको समयमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाउन आवश्यक रहेकोमा जोड दिए।
यसैसँग, संस्थाले निर्वाचनको समयमा सशस्त्र समूहहरूले राजनीतिक दल वा उम्मेदवारहरूलाई दबाब सृजना गर्ने, मतदातालाई भयभीत पार्ने र सामान्य निर्वाचन वातावरणमा बाधा पुर्याउने खतराको पनि उल्लेख गरेको छ।
निर्वाचन आयोग, सरकार र सुरक्षा निकायहरूले यस मुद्दामा तत्काल ध्यान दिएर निवारक उपाय अपनाउनुपर्ने माग गर्दै संस्थाले सबै राजनीतिक दलहरूलाई पनि निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन एकजुट हुन आह्वान गरेको छ।





