६९ करोडको भ्रष्टाचार मुद्दाकी आरोपीलाई मन्त्री : सुशासनको खोक्रोपनको चरम प्रदर्शन

# अविनाश शर्मा
नेपाल पर्यटन बोर्डमा ६९ करोड रुपैयाँ दुरुपयोग प्रकरणमा विशेष अदालतमा मुद्दा चलिरहेका अभियुक्तमध्ये परेकी पूर्व वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाउने जेन–जेड सरकारको निर्णयले सुशासन र नैतिकताको सबै सीमा नाघेको स्पष्ट संकेत दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते पर्यटन बोर्डका २३ जनाविरुद्ध दर्ता गरेको भ्रष्टाचार मुद्दामा श्रद्धा श्रेष्ठ प्रत्यक्ष संलग्न आरोपीका रूपमा चर्चामा थिइन्, र उनीविरुद्ध ठूलो रकमको हिनामिनाको आरोप प्रमाणसहित विशेष अदालतमा मुद्दा पेश भइसकेको छ।
यस्ता गम्भीर मुद्दा झेलिरहेकी व्यक्तिलाई शक्तिशाली कार्यकारी पदमा पुर्याउनु केवल राजनीतिक कमजोरी मात्र होइन, न्यायिक प्रक्रियामाथि खेलवाड गर्ने खुला प्रयासजस्तै देखिन्छ। मुद्दा बहाल रहँदै मन्त्री बनाइने शैलीले अनुसन्धान निष्पक्ष रूपमा अघि बढ्ने आशालाई नै समाप्त पारिदिन्छ। मन्त्रीको हैसियतले दस्तावेज, प्रक्रिया, स्रोत र प्रभावमा पहुँच बढ्ने भएकाले विशेष अदालतमा चलिरहेको मुद्दामाथि प्रत्यक्ष वा अप्रत्यक्ष दबाब पर्ने जोखिम अत्यन्त उच्च हुन्छ।
सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृति निर्माणको भाषण गरेको जेन–जेड नेतृत्वले भ्रष्टाचार मुद्दा बोकेकी व्यक्ति नै मन्त्री बनाएको घटनाले आन्दोलनले उठाएका मूल्य र आदर्श कागजमै सीमित रहेको पुष्टि गरिदिएको छ। भ्रष्टाचारलाई राजनीतिक संरक्षण दिने पुरानै रोग साँच्चिकै जेन–जेड सरकारभित्रै जीवित रहेको प्रमाण यो नियुक्ति हो।
६९ करोड रुपैयाँको सार्वजनिक धन दुरुपयोग आरोप लागेको व्यक्तिलाई मन्त्री बनाउनु जनताको कर, न्यायिक शुचिता, अख्तियारलाई दिइएको संवैधानिक अधिकार र नागरिकको भरोसामाथि गरिएको ठोस प्रहार हो। परिवर्तनको वाचा गरेर सरकारमा आएका नेताहरूले आरोपितहरूलाई उचाइमा पुर्याउने निर्णय गर्नु नेपालको राजनीतिमा नैतिकताहीनताको दृढ पुनरागमन हो।
यो केवल मन्त्री नियुक्ति मात्र होइन कि देशको राजनीतिक चरित्र कहाँ झरेको छ भन्ने उजागर गर्ने क्षण हो। सुशासनका नाममा विश्वास बेचेर, आन्दोलनका मूल्यहरू सत्ताको मौजमा फालेर, जेन–जेड सरकार पुरानै भ्रष्ट राजनीतिक संस्कृतिको नक्कली नक्सा बनेर उभिएको छ। नागरिकले परिवर्तन खोजेका थिए, तर सरकारले फेरि उही परम्परा भ्रष्टाचारमाथि फुलबुट्टा भरेर आरोपितलाई सिंहदरबार पुर्याउने भ्रष्ट कार्य लाई नै निरन्तरता दिएको छ।





