मुस्ताङमा हिउँचितुवाको आक्रमणबाट १६ भेडा मरे

मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रनजिकै बिहीबार (मंसिर २५) राति हिउँचितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तोष परियारको खोरमा हिउँचितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जानकारी दिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
किसान परियारको मार्फास्थित गाउँभित्रको खोरमा ४५ भेडाच्यांग्र्रा थिए। तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो। यसबाट करिब ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल जाँदै गरेको बताउनुभयो।
पछिल्लो समय मानव र हिउँचितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ। हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँचितुवाको आहारा प्रजाति चरन क्षेत्र खोज्दै बस्तीनजिक आउने गर्छन्। हिउँचितुवा पनि आहारा पछ्याउँदै बस्तीनजिक आएर स्थानीय पशुपालकको पशुधनमा क्षति पुर्याउने गरेको पाइएको छ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँचितुवाबीचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ। यसैका कारण जिल्लाका कतिपय किसानले पशुपालन व्यवसाय छोड्न थालिसकेका छन्।
CGTN





