लयमा फर्कंदै नेपाली पर्यटन क्षेत्र

गत नोभेम्बरमा नेपालमा एक लाख १६ हजार विदेशी पर्यटक घुम्न आएका छन्। पर्यटन बोर्डका अनुसार नेपालमा भारतीय पर्यटकसँगै युरोपेली पर्यटकको आगमन पनि बढ्दो छ। यससँगै जेनजी आन्दोलनपछि खस्किएको पर्यटन क्षेत्रले लय समाउन थालेको व्यवसायीले बताएको गोरखापत्र अनलाइनले लेखेको छ।
जेनजी आन्दोलनको प्रभावले आउने तयारीमा रहेका पर्यटक रोकिएका थिए भने आइसकेका पर्यटकले बसाइ अवधि छोट्याएर धमाधम फर्किएका थिए। व्यवसायीका अनुसार त्योबेला आइसकेको बुकिङको करिब ९० प्रतिशत बुकिङ आन्दोलनको प्रभावले रद्द भएको थियो, जसको प्रभावस्वरूप पर्यटन क्षेत्र सुनसान नै बनेको थियो। अहिले बिस्तारै सुधारोन्मुख अवस्था रहेको पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताउनुभयो।
जेनजी आन्दोलनपछि भारतीयको आगमनमा भने अझै सोचे जस्तो सुधार हुन नसकेको उहाँको भनाइ छ। नोभेम्बरमा नेपालमा जम्मा १८ हजार ९९५ जना भारतीय पाहुना आए। बोर्डका अनुसार गत अगस्तमा नेपालमा हवाईमार्गबाट भित्रिने भारतीयको सङ्ख्या ३५ हजार ५०५ थियो। सेप्टेम्बरमा त्यो आगमन खस्केर १५ हजार ५५६ मा झरेको थियो। भारतीय पर्यटकको आगमनमा कमी आए पनि युरोपेली पर्यटकको आगमनले पर्यटनलाई क्षेत्रमा आशा दिलाएको लामिछानेले बताउनुभयो। आन्दोलनपछि पनि छिट्टै नै पर्यटन आगमनमा सुधार आएको उहाँको भनाइ थियो।
होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पनि पर्यटनको आगमन राम्रै भएका कारण होटेलको अकुपेन्सी ३५ प्रतिशत रहेको जानकारी दिनुभयो। “होटेल अकुपेन्सी पनि घटबढ भइरहन्छ। यतिखेर स्कुलका विद्यार्थी भ्रमण आउने गरेका छन्। कतिपय दिनभर डुलेर साँझ स्कुल बसमा घर फर्कने पनि छन्। यसो हेर्दा पर्यटकको सङ्ख्या बाक्लो देखिए पनि होटेलमा बस्ने कमै हुन्छन्,” उहाँले भन्नुभयो।
पोखरामा पर्यटनको आगमनसँगै विभिन्न होटेलमा लगानी पनि भइरहेको उहाँले बताउनुभयो। अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब आठ खर्ब रुपियाँ बराबरको लगानी भएको छ। सोमध्ये करिब छ खर्ब रुपियाँ होटेल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन्। पोखरामा करिब एक हजार दुई सय पर्यटकीयस्तरका होटेल सञ्चालनमा छन्, जसमा सात सय वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन्। एक रातमा करिब ४० हजार पाहुना राख्न सक्ने क्षमता पोखराका होटेलमा रहेको छ।
CGTN





