गोदावरीमा पारित विधान भृकुटीमण्डपमा ध्वस्त

नेकपा (एमाले) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विधान ध्वस्त भएको आरोप लगाएका छन् ।

भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनको बन्दसत्रमा छुट्टै अवधारण पत्र प्रस्तुत गर्दै पोखरेलले गोदावारीमा सम्पन्न विधान महाधिवेशनको औचित्य समाप्त पारिएकोप्रति आपत्ति जनाए । विधान महाधिवेशनबाट पारित प्रावधानहरू तीन महिनामै उल्ट्याइनु दुःखद् भएको उनको भनाइ छ ।

बिहान बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीको चाहनाअनुसार पार्टी पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको आकार बढाउने निर्णय गरिसकेको छ । आफ्ना निकटका नेताहरूलाई ‘सेटल’ गर्ने उद्देश्यले ओलीले विधान महाधिवेशनबाट पारित विधान छोटो समयमै परिवर्तन गरेको पृष्ठभूमिमा पोखरेलले विरोध जनाएका हुन् ।

गोदावरीमा सम्पन्न विधान महाधिवेशनको औचित्य समाप्त गरिएको पोखरेलको बुझाइ छ । “गत भदौ २२ गते हामी जुन निष्कर्षमा पुगेका थियौँ, अहिले त्यो ठाउँमा छैनौँ । सबै कुरा ध्वस्त भएको छ,” उनले बन्दसत्रलाई सम्बोधन गर्दै भने, “यसको कारण बाह्यभन्दा आन्तरिक नै निर्णायक हो भन्ने प्रश्नको निराकरण गर्नैपर्छ ।”

बन्दसत्र सञ्चालन प्रक्रियाप्रति पनि पोखरेल समूह असन्तुष्ट देखिएको छ। अध्यक्ष मण्डल गठन नगरी अध्यक्ष ओलीले नै बन्दसत्र सञ्चालन गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । साथै, महासचिव शंकर पोखरेलले बन्दसत्र सुरु हुनुअघि आचारसंहिता सुनाउँदै “कसैले बोल्नुपर्ने भए अध्यक्षज्यूको अनुमति लिनुपर्ने” भनेपछि पोखरेल समूहका नेताहरू विरोधमा उत्रिएका हुन् ।

पोखरेल समूहका नेताहरूले अध्यक्ष ओलीले महाधिवेशनमा सहमतिभन्दा बल प्रयोग गरेरै नेतृत्व हात पार्न खोजेको निष्कर्ष निकालेका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button