संयुक्त राष्ट्र प्रमुखले सुडानमा शान्तिसेना अड्डामा भएको हमलालाई युद्ध अपराध भने, ६ को मृत्यु

# अविनाश शर्मा
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले शनिबार बिहान सुडानको काडुग्ली स्थित संयुक्त राष्ट्र शान्ति मिशनको लजिस्टिक्स बेसमाथि गरिएको ड्रोन हमला कडा निन्दा गरेका छन्। यस हमलामा संयुक्त राष्ट्रको अबिएइ अन्तरिम सुरक्षा बलमा सेवारत बंगलादेशी शान्तिसेनाका छ जना सदस्यको मृत्यु र आठ जना घाइते भएका छन्।
गुटेरेसले बंगलादेश सरकार, त्यहाँका जनता र शहीद शान्तिसेनाको परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरू चाँडो निको हुन् भनी कामना गरे। उनले यस्तो हमला अन्तर्राष्ट्रिय कानून अनुसार युद्ध अपराध हुन सक्ने बताउँदै संघर्षरत पक्षहरूलाई संयुक्त राष्ट्र कर्मचारी र नागरिकहरूको सुरक्षाको दायित्व सम्झाए। “यसको जवाफदेहिता तय हुनैपर्छ,” उनले जोड दिए।
संयुक्त राष्ट्र प्रमुखले युद्धरत पक्षहरूलाई तत्काल युद्धविराममा आउन र दीर्घकालीन युद्धविराम र समावेशी सुडानी स्वामित्वको राजनीतिक प्रक्रियाका लागि वार्ता पुनः सुरु गर्न आह्वान गरेको छ। भने, सुडानी सेनाले यो हमला प्यारामिलिट्री र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आरोप लगाएको छ, जसलाई आरएसएफले अस्वीकार गरेको छ।





