देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जन्मजयन्तीमा प्रदान गरिने, २०२६ देखि नयाँ अभ्यास

काठमाडौं। देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले पुरस्कार प्रदान गर्ने समय र परम्परामा महत्वपूर्ण परिवर्तन गरेको छ। अबदेखि प्रत्येक वर्ष फेब्रुअरी १३, स्वर्गीय देवेन्द्र गौतमको जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गरिनेछ। यो व्यवस्था सन २०२६ बाट औपचारिक रूपमा लागू हुने समितिले जनाएको छ।
यसअघि स्व. गौतमको स्मृति दिवसमा प्रदान हुँदै आएको पुरस्कारलाई जीवन र योगदानको उत्सवका रूपमा रूपान्तरण गर्न यो निर्णय लिइएको हो। करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरकी अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा पुरस्कार वितरणको अवधारणा पुनःपरिभाषित गरिएको हो।
अध्यक्ष गौतमका अनुसार, “स्मरण मात्र होइन, देवेन्द्र गौतमले अँगालेका मूल्य, साहस र पत्रकारिताप्रतिको प्रतिबद्धतालाई उत्सवका रूपमा निरन्तर जीवित राख्नु हाम्रो उद्देश्य हो। त्यसैले जन्मजयन्तीलाई पुरस्कार प्रदान गर्ने उपयुक्त दिन ठानेका छौँ।”
समितिले देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष श्रेष्ठलाई निडर खोज पत्रकारिता, सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा गरेको दीर्घकालीन योगदानको कदरस्वरूप सम्मान गरिन लागिएको हो। सम्मानपत्रसहित यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
त्यस्तै, करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर सेवा दिँदै आउनुभएका प्राविधिक हरि बहादुर थापा मगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ। संस्थागत स्थायित्व, निष्ठा र दीर्घ सेवाको प्रतीकका रूपमा उहाँको योगदानलाई सम्मान गर्दै उहाँलाई पचास हजार रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिने समितिले जनाएको छ।
अन्तर्राष्ट्रिय तहमा नेपाल–चीन सञ्चार सम्बन्ध सुदृढ गर्न उल्लेखनीय भूमिका खेलेका चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) पनि पुरस्कारबाट सम्मानित हुने भएका छन्। नेपालका राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिसम्बन्धी करिब तीन हजार समाचार, तस्बिर र भिडियो सामग्री प्रकाशन गरी नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्याएको मूल्यांकन गर्दै उहाँलाई पनि पचास हजार रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिनेछ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व तथा नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको हो। सत्य, निष्ठा, जनउत्तरदायित्व र दीर्घकालीन पत्रकारिता योगदानको सम्मान गर्नु यस पुरस्कारको मूल ध्येय रहेको छ।
अबदेखि जन्मजयन्तीमा पुरस्कार प्रदान गर्ने निर्णयले शोकको स्मरणभन्दा प्रेरणाको सन्देश प्रवाह गर्ने विश्वास समितिले लिएको छ। पुरस्कार वितरण समारोहसम्बन्धी विस्तृत कार्यक्रम समयमै सार्वजनिक गरिने जनाइएको छ।





