एमाले ११औँ महाधिवेशन सम्पन्न, केपी ओली पुनः अध्यक्षमा निर्वाचित

काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अन्तिम मतपरिणामअनुसार केपी शर्मा ओली भारी मतान्तरसहित अध्यक्षमा पुनः निर्वाचित भएका छन्। ओलीले १६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए।
उपाध्यक्ष पदका पाँचै पदमा घोषित उम्मेदवारहरू निर्वाचित भएका छन्। पृथ्वी सुब्बा गुरुङले १७३७, विष्णु प्रसाद पौडेलले १६७५, रामबहादुर थापा ‘बादल’ले १५१६, गोकर्ण राज विष्टले १३६८ र रघुजी पन्तले १२५८ मतसहित उपाध्यक्षमा विजय हासिल गरे। यस पदमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंक प्रसाद कार्की र भीमप्रसाद आचार्य पराजित भए।
महासचिव पदमा शंकर पोखरेल १२२८ मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे।
उपमहासचिव पदका तीन स्थानका लागि लेखराज भट्ट (१४५२), रघुवीर महासेठ (१३६८) र योगेश भट्टराई (१३४८) निर्वाचित भएका छन्। यस पदमा विष्णु प्रसाद रिमाल, आनन्द प्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्र प्रसाद गौतम पराजित भए।
सचिव पदका नौ स्थानमा महेश बस्नेत (१५४४), पद्मा कुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मत कुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यमलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) निर्वाचित भएका छन्। यस पदमा गोकुल प्रसाद बास्कोटा, ठाकुर प्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्नि प्रसाद खरेललगायत उम्मेदवारहरू पराजित भए।
महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टी संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशामा केन्द्रित भएर अघि बढ्ने अपेक्षा गरिएको छ।





