मध्यपूर्व द्वन्द्वको कहालीलाग्दो परिणाम: ४१ लाखभन्दा बढी विस्थापित, संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौं – मध्यपूर्वमा हालै भएको भीषण द्वन्द्वका कारण अफगानिस्तान, इरान, लेबनान र पाकिस्तानमा मात्र ४१ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका प्रवक्ताले बिहीबार यो तथ्यांक सार्वजनिक गर्दै युद्धग्रस्त क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएका छन्।
संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले दैनिक पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र शरणार्थी उच्चायोगको हवाला दिँदै भने, “यसबाहेक करिब १ लाख १७ हजार मानिसले छिमेकी मुलुकहरूमा शरण लिएका छन्।”
दुजारिकले मध्यपूर्व क्षेत्रमा मानवीय सहायताको सबैभन्दा ठूलो आवश्यकता रहेको उल्लेख गर्दै भने, “यस क्षेत्रमा विश्वकै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने जनसंख्या बसोबास गर्दछ। हालको द्वन्द्वले नागरिकको पीडा अझ बढाउने र जर्जर नागरिक पूर्वाधारलाई थप क्षति पुर्याउने जोखिम बढाएको छ।”
संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदार संस्थाहरूले प्रभावित देशहरूमा राहत सामग्री वितरण जारी राखेको र आवश्यकताअनुसार राष्ट्रिय अधिकारीहरूलाई सहयोग गर्न तयार रहेको उनले बताए।





