बाढीको एक वर्षपछि पनि रसुवागढी भन्सार यार्ड अस्तव्यस्त

ड्रागन मिडिया समाचार कक्ष
चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको यार्ड विनाशकारी बाढीले तहसनहस बनाएको एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनःस्थापना हुन सकेको छैन।
अस्थायी मितेरी पुल निर्माणपछि आयात, निर्यात तथा यात्रु आवागमन पुनः सञ्चालनमा आए पनि भन्सार यार्ड, निर्माणाधीन एकीकृत जाँच चौकी, तटबन्ध र आसपासका संरचनामा बाढीले पुर्याएको क्षति अझै स्पष्ट देखिन्छ।
चीनतर्फको ल्हेन्दे खोलामा २०८२ असार २४ गते आएको भीषण बाढी भोटेकोशी नदीमा मिसिएपछि रसुवागढी क्षेत्रको भौतिक संरचना, सडक, भन्सार यार्ड, मितेरी पुल र जलविद्युत संरचनामा व्यापक क्षति पुगेको थियो। बाढीले मालवाहक कन्टेनर, सवारीसाधन र करोडौँ रुपैयाँ बराबरका मालवस्तु बगाउनुका साथै मानवीय क्षतिसमेत पुर्याएको थियो।
रसुवा भन्सार कार्यालयले चीनबाट हुने आयातको बढ्दो चाप व्यवस्थापन गर्न केही वर्षअघि नयाँ भन्सार यार्ड सञ्चालनमा ल्याएको थियो। विशेषगरी विद्युतीय सवारीसाधन, तयारी पोसाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री र फलफूल बोकेका सवारीसाधनको पार्किङ, जाँच र भन्सार जाँचपासलाई व्यवस्थित गर्ने उद्देश्यले यार्ड निर्माण गरिएको थियो।
उक्त यार्डमा एकैपटक सयौँ मालवाहक कन्टेनर र ठूलो संख्यामा विद्युतीय सवारीसाधन व्यवस्थापन गर्न सकिने क्षमता थियो। तर बाढीले यार्डको ठूलो भाग पुरिनुका साथै समथर जमिन, पहुँचमार्ग, तटबन्ध र निर्माणाधीन एकीकृत जाँच चौकीमा गम्भीर क्षति पुर्याएपछि यसको पूर्ण क्षमता प्रयोग गर्न सकिएको छैन।
रसुवा भन्सारका अधिकृत प्रेम सुवेदीका अनुसार बाढी आएको रात कर्मचारी, सुरक्षाकर्मी, चालक र सहचालकहरूले ज्यानको जोखिम मोलेर राजस्व तिर्न आएका मालवाहक सवारीसाधन सुरक्षित स्थानतर्फ सार्ने प्रयास गरेका थिए।
उनले भने, “बाढी आएपछि ठूलो गर्जन सुनियो। त्यसपछि भन्सारका कर्मचारी र सुरक्षाकर्मी तल गएर राजस्व तिर्न आएका लाखौँ र करोडौँ रुपैयाँका सामान भएका गाडी माथितिर सार्न थाले। केही गाडी बचाइए, तर केही गाडी, चालक र सहचालक बाढीमा बगे। करोडौँ रुपैयाँका मालवस्तु पनि बगे। निर्माणाधीन एकीकृत जाँच चौकी, तटबन्ध र मितेरी पुलसमेत क्षतिग्रस्त भए।”
बाढीले मितेरी पुल बगाएपछि रसुवागढी हुँदै हुने नेपाल र चीनबीचको व्यापार करिब छ महिना अवरुद्ध भएको थियो। चिनियाँ पक्षले अस्थायी बेलिब्रिज निर्माण गरेपछि सन् २०२६ जनवरी १ देखि नाकामा भन्सार तथा यात्रु जाँचपास औपचारिक रूपमा पुनः शुरु भएको हो।
व्यापारिक गतिविधि पुनः सञ्चालन भए पनि भन्सार यार्डमा बाढीले ल्याएका ठूला ढुङ्गा, गेग्रान र क्षतिग्रस्त संरचना अझै देखिन्छन्। स्थायी पुनर्निर्माण नभएकाले भन्सार कार्यालयले अस्थायी व्यवस्थापनकै आधारमा आयातित मालवस्तु र सवारीसाधनको जाँचपास गरिरहेको छ।
रसुवागढी नाकाबाट मुख्य रूपमा तयारी पोसाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, स्याउ, सुन्तला, अङ्गुर, ड्राइफ्रुट्स, ड्रागन फ्रुट तथा विद्युतीय सवारीसाधन आयात हुने गरेका छन्। औद्योगिक कच्चा पदार्थ र रासायनिक सामग्रीको आयात भने तुलनात्मक रूपमा न्यून रहेको भन्सार कार्यालयले जनाएको छ।
अधिकृत सुवेदीले भने, “यहाँबाट मुख्य रूपमा तयारी कपडा, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, फलफूल र विद्युतीय सवारीसाधन आउँछन्। डिजेल र पेट्रोलबाट चल्ने गाडी यस नाकाबाट आउने गरेका छैनन्।”
उनका अनुसार चीनबाट नेपाली बजारको माग र मौसमअनुसारका सामग्रीसमेत ठूलो परिमाणमा आयात हुने गरेका छन्। विश्वकपजस्ता ठूला खेलकुद प्रतियोगिताका बेला खेल सामग्री, तिहारमा विद्युतीय बत्ती र सजावटका सामान तथा होलीमा रङ्ग र अन्य उत्सव सामग्रीको आयात बढ्ने गरेको छ।
भन्सार यार्ड पुनःनिर्माण नहुँदा विद्युतीय सवारीसाधनको बढ्दो आयात व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। पर्याप्त समथर भूमि नभएकाले आयातित सवारीसाधन सडक किनार र स्थानीय व्यक्तिको खाली जग्गा भाडामा लिएर राख्नुपर्ने अवस्था छ।
सुवेदीले भने, “दुवैतर्फ अग्ला पहाड छन् र बीचमा पर्याप्त समथर भूमि छैन। विद्युतीय गाडी सडकको साँघुरो भाग र स्थानीयको जग्गा भाडामा लिएर राख्नुपरेको छ। माथिबाट ढुङ्गा खस्ने जोखिम सधैँ रहन्छ।”
भन्सार परिसर र आसपासका क्षेत्रमा अस्थायी तटबन्ध निर्माणका लागि चीन सरकारको निर्माण टोलीसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ। स्थायी मितेरी पुल निर्माणका लागि चीनले परियोजना कार्यान्वयन सम्झौताको प्रस्ताव नेपाल सरकारलाई पठाएको छ, तर आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा हुन बाँकी छ।
चीन सरकारको अनुदानमा स्तरोन्नति भइरहेको स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको करिब १४ किलोमिटर सडकले पहिरो हटाउन र क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न सहयोग पुर्याएको भन्सार कार्यालयको भनाइ छ।
सुवेदीले भने, “कतै पहिरो गयो भने निर्माण कम्पनीले तुरुन्त हटाइदिन्छ। सडकमा खाल्डाखुल्डी भए तत्काल मर्मत गरिन्छ। अहिले चीन सरकारको सहयोगमा सडक निर्माण भइरहेकाले आवागमन सहज बनाउन ठूलो मद्दत पुगेको छ।”
यद्यपि रसुवागढी क्षेत्रको जटिल भौगोलिक अवस्था अझै प्रमुख चुनौतीका रूपमा छ। वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने जोखिम रहन्छ भने हिउँदमा हिमपातका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ। सडक स्तरोन्नतिका क्रममा समेत भौगोलिक कठिनाइका कारण निश्चित अवधिका लागि सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था आएको थियो।
सुरक्षालाई ध्यानमा राख्दै भन्सार कार्यालयले बेलुका ७ बजेपछि मालवाहक सवारीसाधन सञ्चालन नगर्ने व्यवस्था लागू गरेको छ। जाँचपास पूरा भएका गाडीलाई पनि बिहान ६ बजेपछि मात्र गन्तव्यतर्फ पठाइने गरिएको छ।
सुवेदीले भने, “हामीले कर्मचारीलाई समेत बेलुका ७ बजेपछि काठमाडौँतर्फ यात्रा नगर्न भनेका छौँ। जाँचपास भएका गाडी पनि बिहान ६ बजेपछि मात्र छोड्ने गरिएको छ।”
रसुवागढी नाका नेपाल र चीनबीचको व्यापार तथा यात्रु आवागमनको प्रमुख प्रवेशद्वार हो। तर प्राकृतिक विपदको जोखिम, सीमित समथर भूमि, अपर्याप्त भन्सार पूर्वाधार र ढिलो पुनर्निर्माणका कारण यसको सञ्चालन निरन्तर चुनौतीपूर्ण बनेको छ।
ल्हेन्दे खोलाको बाढी आएको एक वर्षपछि पनि भन्सार यार्ड र एकीकृत जाँच चौकी पूर्ण रूपमा पुनःनिर्माण हुन नसक्नुले व्यापारिक पूर्वाधारको दीर्घकालीन सुरक्षा, विपद पूर्वतयारी र स्थायी तटबन्ध निर्माणको आवश्यकता थप स्पष्ट पारेको छ। व्यापार पुनः सञ्चालनमा आए पनि रसुवागढी नाका अझै जोखिमपूर्ण अस्थायी संरचना र सीमित व्यवस्थापनकै भरमा चलिरहेको छ।





